हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने - pharaksandesh.com

मुख्य समाचार


Monday, 15 July 2019

हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने

काठमाडौँ, ३० असार :  नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ ।

बोर्डले सोमबार काठमाण्डौमा सार्वजनिक गरेको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिनसक्ने व्यवस्था गर्ने उल्लेख गरिएको हो । लगानीकर्ताहरुको हकलाई ध्यानमा राखेर त्याे प्रावधान राखेर अघि बढने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी बोर्डले गएकाे आर्थिक वर्षबाट सुरु भएको ‘एक नेपाली : एक डिम्याट खाता’ सम्बन्धी नीतिलाई पनि प्रभावकारी बनाउने कार्यक्रम तय गरेको छ । बोर्डका अध्यक्ष कार्कीले ५० करोड वा त्यसभन्दा माथिका र एक अर्ब वा त्यसभन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन सहजीकरण गर्ने योजना पनि अघि सारेको छ ।

बोर्डले समष्टिगत बजार सुधार तथा विकास नीति अन्तर्गत धितो पत्रको दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्क्लाेजरको व्यवस्था गर्ने पनि जनाएको छ ।

पूँजी बजारको गतिशील विकासमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलगायतका विशेष ऐनद्वारा स्थापित यस्तै प्रकृतिका संस्थाहरुलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ताको रुपमा तथा धितोपत्र डिलर कारोबारको सुरुवात गराउन आवश्यक सहजीकरण गर्ने पनि बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.