काठमाडौँ, ३१ असार : शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि पहिलो पटक ज्ञान सार्वजनिक गरेको सम्झनामा आज बौद्धमा विश्व शान्तिको पूजा गरिएको छ ।
बुद्धवचन अनुवाद समितिले आयोजना गरेको उक्त कार्यक्रममा बुद्ध पूजा, मानव कल्याणको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । बुद्धले करीब छ वर्षको साधनापछि प्राप्त गरेका विभिन्न ज्ञानलाई गुरु पूर्णिमाका दिन भारतको सारनाथमा पहिलो पटक चार आर्यसत्यको ज्ञान बाँडेको बौद्ध अनुययी विश्वास गर्दछन् ।
दुःख, दुःखका कारण, त्यसको समाधानलगायत विषयमा पाँच भिक्षुलाई बुद्धले शिक्षा दिएको विषय बौद्धशास्त्रमा पाइन्छ । बुद्धले राजगृहको गृदकुट पर्वतमा दोस्रो पटक बौद्ध ग्रन्थ ‘प्रज्ञा पारमिता’सम्बन्धी ज्ञानबाट सर्वसाधरणलाई दीक्षित गरेको बताइन्छ । त्यसमा कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व नहुने, एकअर्कामा निर्भर भएर मात्र अस्तित्व कायम हुने शिक्षा समेटिएको छ ।
उक्त समितिले गत वर्षदेखि ‘प्रज्ञा पारमिता’ का १६ ठेलीलाई नेपालीमा अनुवाद गर्न कार्य प्रारम्भ गरेकामा अहिले सात ठेली अनुवाद भइसकेका छन् । संस्कृत र भोट भाषामा रहेका ती ठेली चार वर्षको समयावधिमा रु चार करोडको लागतमा अनुवाद सम्पन्न गरिने संयोजक टीका शेर्पाले जानकारी दिनुभयो ।
उक्त ग्रन्थ ११आँै शताब्दीमा रञ्जना लिपिमा लिपिबद्ध गरिएका र पुराना केही विहारमा सुरक्षित गरिएका जनाइएको छ । गुरु पूर्णिमा दिनदेखि तीन महीनासम्म बौद्ध भिक्षु वर्षाबास बस्ने प्रचलनसमेत छ ।(रासस)

No comments:
Post a Comment