एकीकृत शत्रुजीव व्यवस्थापन नमूना प्रदर्शनी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 18 March 2020

एकीकृत शत्रुजीव व्यवस्थापन नमूना प्रदर्शनी

सुर्खेत, ५ चैत  : कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुर्खेतले ‘एकीकृत शत्रुजीव व्यवस्थापन नमूना प्रदर्शनी’ गरेको छ । मन्त्रालयले बिना विषादी विभिन्न रोग किरालाई नियन्त्रण तथा अनुगमन गर्न नवीन प्रविधिको प्रदर्शनी गरेको हो । 

जैविक विषादी प्रयोग गरेर रोग किरा नियन्त्रण गर्ने सिकाइ केन्द्रका रूपमा कृषि मन्त्रालयले यो प्रविधियुक्त प्रदर्शनीको स्थापना गरेको कृषि प्राविधिक चक्र राईले जानकारी दिनुभयो । “आइडी नेपाल र सिप्रेड संस्थाको साझेदारीमा एकीकृत शत्रुजीव व्यवस्थापन गर्न यो प्रविधि प्रयोगमा ल्याइएको हो”, प्राविधिक राईले भन्नुभयो, “यो शत्रुजीवसँग सम्बन्धित रोग किराका लागि एउटा पासाजस्तै हो ।” 

यो प्रविधि अहिले कृषि तथा सहकारी मन्त्रालय र मन्त्रालय मातहतको कार्यालयमा प्रदर्शनी गरिएको मन्त्रालयका कृषि प्रसार अधिकृत (सूचना अधिकारी) धनबहादुर कठायतले बताउनुभयो । “मन्त्रालयको अघि प्लाष्टिकको घर निर्माण र मल्चिङ विधिबाट गोलभेँडा, काँक्रो, फर्सी, करेलालगायतका तरकारी लगाइएका छन्”, सूचना अधिकारी कठायतले भन्नुभयो, “यो प्रविधि मूलतः स्थानीय विधिबाट अन्वेषण गरिएको हो ।” 

उहाँले प्रदर्शनीलाई ट्रयाप, डेल्टा, पहेँलो च्यापच्यापे, ल्यूसिन ल्यूमर, साबुनपानी र बिजुली पासोलगायतका विभिन्न प्रविधिको प्रयोग गरिएको बताउनुभयो । सूचना अधिकारी कठायतका अनुसार रु तीन लाखको लगानीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा एउटा प्लाष्टिक घर र शत्रुजीव व्यवस्थापनका लागि स्थानीय प्रविधियुक्त प्रदर्शनी राखिएको छ भने प्रदेशसभालगायत अन्य मन्त्रालय र प्रदेश सरकार मातहतका कार्यालयमा पनि यो प्रविधि शुरु गरिनेछ । 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकारको जैविक अभियानलाई सहयोग पु¥याउन यो प्रविधिमा जोड दिइएको बताउनुभयो । कर्णाली प्रदेशको आयातलाई प्रतिस्थापन गर्न जैविक खेतीमा जोड दिनुपर्ने भन्दै मन्त्री केसीले भन्नुभयो, “जैविक खेतीले यहाँका नागरिकको जीवन स्वस्थ, सुरक्षित एवं आत्मनिर्भर बनाउन सक्छ । यसलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको छ ।”(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.