भद्रपुर, २६ चैत : प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कोभिड–१९ को सङ्क्रमणबाट झापा कारागारका कैदीबन्दीलाई जोगाउन मङ्गलबार अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । उहाँले उपलब्ध गराउनुभएको सामग्रीमा एक हजार १०० मास्क, चार कार्टुन स्यानिटाइजर र केही ग्लोब्स रहेको झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिनुभयो ।
झापा कारागारमा हाल ७७ महिलासहित एक हजार ९७ कैदीबन्दी छन् । डेढ महिनादेखि सरकारी सिदा नपाएको र भेटघाट बन्दका कारण आफन्तसँग सहयोग लिनसमेत नपाएकाले साबुन, स्यानिटाइजर, मास्क, दाँत माझ्ने ब्रस र मञ्जन किन्न नसकेर दैनिकी कष्टकर बन्दै गएको कैदीबन्दीले बताउँदै आएका थिए ।
‘कोरोना जनसुरक्षा कोष’मा ११ करोड ८५ लाख
विराटनगर : प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’मा मङ्गलबार थप रु २० लाख जम्मा भएको छ । कोषमा अहिलेसम्म रु ११ करोड ८५ लाख ७४ हजार ५५० जम्मा भइसकेको छ । प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरिएको छ । राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कोषमा बैंक, सङ्घसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग गर्ने क्रम जारी छ । कोरोना भाइरस सङ्क्रमित बिरामीहरुलाई उपचार गर्ने प्रदेशको एक मात्र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रलाई मङ्गलबार विभिन्न सङ्घसंस्थाले रु १३ लाख ३० हजार ७१५ बराबरको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएका छन् । उपलब्ध गराइएका सामग्रीमा रु सात लाख ७६ हजार १७३ बराबरको ३० वटा श्यया, रु चार लाख ६४ हजार ५४२ बराबरको व्यक्तिगत सुरक्षा उपकरण, रु ६० हजार बराबरको कार्डिक मोनिटर र रु ३० हजार बरारको पल्स अक्सिमिटर रहेका छन् ।
प्रदेशमा कार्यरत लुथरन विश्व फेडेरेसन, आइपास, करुणा फाउन्डेसन, सेभ द चिल्ड्रेन, आड्रा, वन हार्ड वल्र्डवाइड, एनएसआई, प्लान इन्टरनेशनल र पीएसआईले कोभिड–१९ उपचारका लागि सङ्घीय सरकारलाई रु ४५ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने योजना रहेको सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना प्रवन्धक हरिबोल बजगाईंले जानकारी दिनुभयो ।
परीक्षणमा ८५ को रिपोर्ट नेगेटिभ
प्रदेश नं. १ मा मङ्गलबारसम्म कोरोना भाइरसको ‘थ्रोट स्वाब’ परीक्षणमा ८५ जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेशमा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकामा ८५ को रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं १ कोरोना सूचना डेस्कले जनाएको छ । प्रदेशमा हाल विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा चार हजार ११५ श्यया छन् ।
अहिलेसम्म दुई हजार ८८५ जना क्वारेन्टाइमा बसेका छन भने आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएको सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले विभिन्न अस्पतालमा आइसोलेसन कक्ष तयार गरेर उपचार व्यवस्था गरेको छ ।
अवैधरूपमा प्रवेश गर्ने २० क्वारेन्टाइनमा
भोजपुर : भोजपुरको षडानन्द नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा अवैधरूपमा नगर क्षेत्रमा प्रवेशका गरेका २० जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । लकडाउनको समयमा बाहिरी जिल्लामा घुमेर आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरुलाई मङ्गलबार वडा नं १४ बोयाको सिंहदेवी आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरी राखिएको नगरपालिकाले जनाएको छ । बोया घर भएका २० जना नै जोगी हुन् । उनीहरू गत फागुन १८ गतेदेखि पूर्वका जिल्लाहरुमा फेरी लगाउन निस्की लकडाउन शुरु भएको तीन÷चार दिनमा त्यहाँ आएको जनाइएको छ ।
सरकारले कोरोनाका कारण लकडाउन घोषणा गरेको अवस्थामा उनीहरु आएकाले आवश्यक सुरक्षाका लागि उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको नगरपालिका उपप्रमुख मेरिका राईले जानकारी दिनुभयो । क्वारेन्टाइनमा दुई स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मी रहेको उहाँले बताउनुभयो । नगरपालिकाले ५० श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । यसअघि क्वारेन्टाइनमा रहेका १३ जनाको स्वास्थ्य अवस्था राम्रो पाइएपछि उनीहरुलाई छाडिएको छ ।(रासस)

No comments:
Post a Comment