मधू भण्डारी
![]() |
"ए बुढी ल कोरोनाको त्राश कम भएछ अब। नयाँ संक्रमितको संख्या फाट्टफुट्ट मात्रै देखिन थाल्यो रे । अब त लक्डाउन पनि खोल्दैछ रे भोलिबाट ।"
"ए हो र? लौ कति खुसिको कुरा पो सुनाउनुभो है बुढा । धन्न यत्रो मान्छे मरे पनि हामिलाई चैं छोएन है यो कोरोनाले । शहरमै भएको भए त के हुन्थ्यो के । बेलैमा गाउँ आईएछ र बाँचियो ।"
"हो नि बुढी अब जागिर, ब्यापार सबै अस्तब्यस्त भाको छ । १/२ दिन मै लागिहाल्नुपर्छ है शहर तयारी गर्दै गर ।"
"हो त अब त बाबुको स्कुल पनि खोल्छन् होला छिट्टै जानुपर्छ ।"
साँझको धन्दा गर्दै गरेकि राधा र गोपालको कुरा छेउमा बसेर नाती सङ्ग खेल्दै गरेकि शकुन्तलाले सुनिरहेकी थिइन् । खै किन हो छोराबुहारीलाई त्यति धेरै खुसी देख्दा पनि उनको मन हाँस्न सकेन ।
भोलिपल्ट बिहानै शकुन्तला तल्लाघरे केशब कहाँ पुगिन्
"नमस्ते है मास्टर बाबु"
"ओ हो आमै नमस्ते । यति बिहानै कता जान लाग्नुभो?"
"यहीँ बाबुलाई भेटौं भनेर झरेकी बाबु ।जान्ने बुझ्ने बाबू नै हुनुहुन्छ हाम्रो गाउँमा ।"
"ए ल भन्नुस न त आमै म के सहयोग गरौं" पिंढिमा गुन्द्री बिच्छ्याउँदै केशबले भने ।
गुन्द्रीमा बस्दै शकुन्तलाले भनिन्- "बाबू महिना दिन भो छोराबुहारी नाति केटोलाई लिएर गाउँ आएका । बल्ल बल्ल बर्ष दिनमा दशैंको दुई दिन झुल्किन्थे । अरु बेला म बुढी एक्लै । त्यै दैलो, आग्लो मात्रै त थ्यो मेरो साथी ।"
"अनि के भयो त आमै अहिले चैं?"
"के हुनु बाबू । उनिहरु अब फेरि सहर जाने कुरा गर्छन् । कुन्नी के कोर्ना कि के जाती महामारी गयो रे भन्छन् ।"
"ए हो नि आमै कोरोनाको महामारीले गर्दा गाउँ छिरेका धेरै मान्छे अब सहर फर्किने भए । लक्डाउन पनि सकियो अरे अब हिजो समाचारमा सुनेको मैले पनि । यो त खुसिको कुरा पो हो त आमै किन के पिर पर्यो भन्नुस् त तपाईंलाई ?"
"यतिका दिन छोरा, बुहारी, नाति सङ्गै बस्यौं, मीठो मसिनो बाँढेर खायौं । सार्हो गाह्रो पर्दा बुहारीले तातो पानी तताएर दिन्थिन्, छोरोले ओखती खोजेर ल्याउँथ्यो । नाति पनि झ्याम्मिन थाल्यो आमै आमै भन्दै । मलाई पनि बानी लाग्यो मास्टर बाबू छोरा नाति सङ्ग बस्ने । अब फेरि कसरी त्यो रित्तो घर रुँघेर बसौं ।
लौ न बाबू तपाईं त जाने बुझेको मान्छे । ठाउँमा कुरो गरेर गाउँको मान्छेलाई उतै बस भन्न लाईदिनुपर्यो ।"आँखाका चेप पुछदै शकुन्तलाले केशबलाई अनुरोध गरिन् ।
हरे कोरोना भन्दा पनि ठूलो महामारी त हाम्रो आफ्नै गाउँठाउँमा पो रैछ । युबा जति कि छोराछोरी र श्रीमती च्यापेर शहर पसेकाछ्न् कि त बिदेशिएका छन् । आफ्नै गाउँठाउँ रित्तो हुने गरि आएको यो महामारिले पो कहिले छोड्ला खै हाम्रो देशलाई । शकुन्तलाको न्याउरो मुख हेर्दै केशब टोलाईरहन्छन् ।
यो पनि पढ्नुहोस् :
लघुकथा- फराकिलो मन
यो पनि पढ्नुहोस् :
लघुकथा- फराकिलो मन

No comments:
Post a Comment