![]() |
| शशी श्रेष्ठ |
घरका छाना,
आँगन र बलेसीहरुमा
हिउँले ओछ्यान बनाउँदा
म तिमीलाई
आगोको भरिलो राप सम्झन्छु।
वनभरि सुनाखरी र चुवा फूलेर
प्रकृति मदहोस बन्दा
म तिमीलाई
अत्तरले भरिएको
एउटा वासनादार प्याला सम्झन्छु।
चौँरीको हुलभित्र
दोचाको पदचापसँगै
भोटे लसुन र यार्चागुम्बा
टिप्दै हिँड्ने
म तिमीलाई
हिउँदको जवान सूर्य सम्झन्छु।
तिम्रो आँखामा कविता लेख्ने,
तिम्रो नसालु ओठहरुमा मुस्कान भर्ने,
ट्याटुले भरिएका
तिम्रा बलिष्ट पाखुराहरु सुम्सुम्याउने,
तिमीलाई हरघडि साथ दिने,
तिम्रो लागि हरेक दिन प्राथना गर्ने,
म नै हुँ, चिन्यौ नि हैन?
अब
मेरो एउटै प्रश्नको उत्तर देऊ प्रिय,
मलाई तिमी सम्झन्छौ कि सम्झदैनौ ??
अब त भनिदेऊ,
तिमी मलाई कहाँ कहाँ सम्झन्छौ ???

No comments:
Post a Comment