काठमाडाैँ, ८ कात्तिक : अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताउनुभएको छ ।
कतिपय कानुनी प्रबन्धका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानुनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताउनुभएको हाे ।
राजस्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । लकडाउनका कारण आर्थिक क्रियाकलापमा सङ्कुचनको अवस्था देखा परेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजस्व सङ्कलनमा चुनौती थपिएको उहाँले बताउनुभयो । तर पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजस्व सङ्कलनको स्थितिअनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको पौडेलले बताउनुभयो ।
यस्तै सरकार र राज्यका विभिन्न निकायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतको विषयमा आफू रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

No comments:
Post a Comment