काठमाडाैँ, ७ कात्तिक : नेपाली कांग्रेसका नेता एवम् सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था 'रअ' का प्रमुख सामन्तकुमार गोयलबीचको भेट आपत्तिजनक भएको बताउनुभएको छ ।
सांसद थापाले शुक्रबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादाको उल्लङ्घनका साथै राष्ट्रिय सुरक्षामा नै चुनौती देखाएको बताउनुभएको छ ।
परराष्ट्र मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभागको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको थापाले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ । केही बुद्धिजीवीहरुले प्रधानमन्त्री र गोयलबीचको भेटघाटको बचाउ समेत गरेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका विषयमा यस्तो भनेको देख्दा अचम्म लागेको बताउनुभएको छ ।
नेपाल–भारतबीच विवादका विषयमा छलफल हुनुपर्नेमा कसैको विमति नरहेको तर प्रक्रिया र कुटनीतिक पद्धतिअनुसार हुने र हुनुपर्ने थापाको भनाइ छ । बुधबार नेपाल आउनुभएका 'रअ' का प्रमुख गोयल बुधबार राति प्रधानमन्त्रीलाई भेटेर बिहीबार बिहान भारत फर्कनुभएको थियो ।
गोयलसँग प्रधानमन्त्रीको भेटलाई लिएर सत्तारुढ नेकपाभित्रै पनि आलोचना भइरहेको छ ।
प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ।सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ।यसको अनुसन्धान हुनुपर्छ। pic.twitter.com/zW1J00xLmU
— Gagan Thapa (@thapagk) October 23, 2020

No comments:
Post a Comment