काबुल, ९ कात्तिक : अफगानिस्तानकाे राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फाेट हुँदा १३ जनाको मृत्यु भएको छ ।
घटनामा ३० जना घाइते भएका छन् । कावुस्थित सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार उच्च शिक्षा प्रदान गर्दै आएको उक्त शैक्षिक संस्थामा शनिबार दिउँसो आत्मघाती बम विस्फाेट भएकाे थियाे ।
सिया मुस्लिमहरुको वाहुल्यता रहेको दस्त–ए–बर्ची नाम गरेको शैक्षिक संस्थामा सयौं विद्यार्थी बस्ने गरेका थिए । सिएनएनका अनुसार कयौँको अवस्था गम्भीर रहेको छ । त्यसैले मृत्युको संख्या बढ्ने अनुमान गरिएको छ ।
अहिलेसम्म हमलाको जिम्मेवारी कसैले लिएको छैन । तर, अफगानिस्तानमा सक्रिय रहेको मुख्य आतंकवादी संगठन तालिवानले भने घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।
अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता तारिक अरैनलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार एकजना व्यक्ति बम लिएर उक्त भवनभित्र पस्न खोज्दा सुरक्षा गार्डले रोक्न खाेजेका थिए । सुरक्षा गार्डले रोक्न खाेज्दा ती व्यक्तिले बम विस्फोट गराएका थिए ।
यसअघि गत मे २४ एकजना अज्ञात बुन्दकधारीले कावुलमा रहेको अस्पतालको प्रसुति वार्डमा गएर अन्धाधुन्ध गोली चलाउँदा २४ जना महिला र नवजात शिशुको मृत्यु भएको थियो ।
यो हप्तामात्रै उत्तरी अफगानिस्तानको एउटा धार्मिक विद्यालयमा हवाई आक्रमणमा ११ जना बालबालिकाको मृत्यु भएको थियो ।

No comments:
Post a Comment