दशैं भन्ने वित्तीकै मनले बाल्यकालमा मनाएको त्यो रमाइलो दशैं खोज्छ ।
बिहानी सफा आकासमा पारीलो घाम लागेपछि बारीमा कोदोको बोट भरीको शित टलक्क टल्किन्थ्यो । सबैको घर रातो माटो, गेरु र कमेरोले बेहुलीझैं सिंगारीएको हुन्थ्यो। घर वरपर केही फुल्न बाँकी, केही फुलेका मखमली, गोदावरी, सयपत्री फूलका बोटहरु शितका थोपाहरुले सिङ्गारिएका हुन्थे ।बिहान उठेर यो मनोरम दृष्य देखेपछि मेरा आँखाहरुलाई दशैं आउँथ्यो।
घरमा अरु केही होस् नहोस् रेडियो सधैं हुन्थ्यो । बिहानको ५ बजे बाट रातको ११ बजेको समाचार नसकिँदा सम्म बजिरहन्थ्यो । जब बिहान म बिस्ताराबाटै रेडियोमा मालश्री धुन सुन्थें, दिनभरी दशैं सम्बन्धि गितहरु सुन्थें अनि थुप्रै संघ संस्थाका शुभकामना सन्देश बजेको सुन्थें मेरा कानहरुलाई दशैं आउँथ्यो।
हजुरबाले सुकुटे बजारबाट दशैंको लागी नुन, तेल, मसला र परिवारको सबैको लागी नॅंया लुगा लिएर आनुनुहुन्थ्यो ।रेडीमेड रातो र हेर्दा झलक्क देखीने एउटा र २/३ मिटरको अर्को बुट्टे थानको लुगा हुन्थ्यो जो मेरोलागी बिशेष हुन्थ्यो । त्यही लुगाको मुजा नै मुजा र ठुलो खल्ती भएको घाँगर सिलाएर लाएपछि त्यसमा अलिअलि नॅंया लुगाको र अलिअलि कलमा हालेको तेलको बास्ना आउॅंथ्यो अनि बल्ल मेरो नाकलाई दशैं आउॅंथ्यो।
सधैं हजुरबा जंगल जानुहुन्थ्यो गोरु चराउन। घटस्थापना भन्दा २/४ दिन पहिले बनबाट खाँबो लिएर आउनुहुन्थ्यो । ३ दिन मा २ वटा खाँबो र एउटा बलो घरको आँगनमा आईपुग्थ्यो। मुठा पारेर कपाल जसरी नै बाटेर राखेको नयाँ बाबीयोको डोरी बाट्न हजुरबालाई ३ घण्टा लाग्थ्यो ।
फुलपातीको अघिल्लो दिन आँगनमा खाँबो गाडेर पिङ बनाइदिनुहुन्थ्यो । त्यही दिन आमाले मिची मिची तातो पानीले नुहाइदिनुहुन्थ्यो।
फुलपातीको दिन कपाल दुई पट्टी बाटेर नयाँ रीबन र नयाँ घाँगर लाएर खल्तीभरी मगमग बासना आउने घैयाको चिउरा हालेर आँगनको पिङमा मच्चेपछि मेरो मनलाई दशैं आउॅंथ्यो।
गाउँबाट कामको, पढाइको र अन्य बिभिन्न सिलसिलामा शहर पसेका दाइ, दिदी, काका , ठुलोबा सबै फुलपातीको अघिल्लो दिन सम्म घर आईसकेका हुन्थे।
बाबीयो बटुलेर वरको रुखमा ठुलो पिङ हालिन्थ्यो। गाउँ पुरै उमंगले भरिएको हुन्थ्यो । र हामी सबैको महान् चाड दशैं हाम्रो घरघरमा, मनमनमा आइपुग्थ्यो।
दशैंमा खानेकुराको बिभीन्न परीकार बन्थ्यो । हुन त दशैंको परिकारमा मासु बिशेष मानिन्छ । तर मेरो दुध ,चिउरा र केरा दशैंको बिशेष परिकार हुन्थ्यो।
यि सबै त दशैंको तयारी हो, सुरुवात हो । दशमीको दिन अर्को नयाँ लुगा लगाएर टिका लगाउनका लागि तयार पारिएको ठाउँमा सबै भन्दा अगाडी म बस्थें र हजुरबाले “जयन्ती मंगला काली...”भन्दै मन्त्र पढेर म बाटै टिका लाउन सुरु गर्नुहुन्थ्यो । हरेकको घरमा आ-आफ्नै चलन रितिरिवाज हुन्छ दशैंको टिका लगाउने । धेरै घरहरुमा ठुलो मान्छे बाट टिका लगाउन सुरु गरिन्छ तर हाम्रो घरमा फरक थियो । पहिले छोरी त्यस पछि क्रमश सानो बाट टिका लगाइन्थ्यो । परिवारमा म एक्लि छोरी भएकोले सुरुवात सधै म बाटै हुन्थ्यो ।सबैले दिएको दक्षिणा मेरो हात भरी हुन्थ्यो । घरमा टिका सकेर हामी मामाघर जान्थ्यौं । यसरी मान्यजनको हातबाट टिका र आशिर्वाद ग्रहण गर्न जाने आउने क्रम पूर्णीमा सम्म चलेर बल्ल दशैं सकिन्थ्यो।तर मेरो दशैं विद्यालय खुलेर साथीहरुलाई दशैंको सारा बेलीबिस्तार लाएपछि बल्ल सकिन्थ्यो।
आज पनि मनले त्यस्तै दशै खोज्छ त्यही रमाईलो खोज्छ ।
यो त १०/११ वर्ष को हुँदासम्म मनाएको पहिलो दशकको अविस्मरणिय दशैं हो । त्यो दशकका सबै दशैं अविस्मरणीय छन्। मन घरीघरी त्यही कामना गर्छ कि फेरी दशैं यसरी नै आओस्। दोस्रो दशक
समय सधैं एकनास हुदैँन । न त मान्छे न परिस्थीती नै ।
जब गाउँ छोडेर शहर पसीयो -
सहरको भिडभाड, दौड धुप, खैलाबैला । दशैं आउथ्यो, फुलपातीको दिन सम्म घर पुगिन्थ्यो ।
हजुरबा हजुरआमा बुढो हुनु भयो, हामी ठुला भयौं।
रेडियो थियो, मालश्री धुन पनि बज्थ्यो, आकास पनि सफा देखीन्थ्यो, फूलहरु फुलेकै हुन्थे तर आँखाले त्यो दशैंको अनुभुती गर्दैनथ्यो जुन बाल्यकालमा गर्थ्यो। पहिलेकै दशैंको खोजीमा टोलाउँथे आँखा।
आँगनको पिङले हजूरबाको गोरु चराउन जान सक्ने उमेर सम्म मात्र निरन्तरता पायो।
सुकुटे बजार बाट आउने दशैं पनि हजुरबा सॅंगै थला पऱ्यो।
आफैंले ल्याएको नयाँ लुगा, नुन तेल, मसला आदिले दशैं नल्याउने रहेछ।
त्यसबेला नेपालमा गृहयुद्द थियो । दशैं तिहार रमाइलो भेटघाट मनोरंजनको लागी नभएर औपचारीकताका लागी मात्र मनाए झैं मनाएका ५९/६० तिरका दशैंहरु सम्झिन्छु।
बिहान उठेर हेर्दा दशैं आएजस्तो नभै सबै नयाँ भए जस्तो लाग्थ्यो।
आँखा कुनै पहिलेकै जस्तो दशैं खोज्थ्यो।
कानले तिनै स्वर र धुनहरु सुन्थ्यो, मन दौडिएर पहिलो दशकमा पुग्थ्यो कुनै अनुभुति बिना पुरानै ति अनुभुति ताजा हुन्थे मन खुसी हुन्थ्यो।
घैयाको चिउरा अझै थियो, केरा मगमगाउँथ्यो अझै, त्यसैको बासनाले राहत दिन्थ्यो। हजुरबाले पहिलो टिका मेरै निधारमा लगाउनुहुन्थ्यो ।"म” छु झैं लाग्थ्यो।
दोस्रो दशकका दशैं पहिलो दशक झैं रोचक त्यती भएनन् तर सुखद् थिए।
तेस्रो दशक
विवाह भयो।
नयाँ घर नयाँ रितिरिवाज,नयाँ परिबेश दशैं फरक भयो ।
हिजो सम्मको “घर” “माइतिघर” भयो।
मेरो जिम्मेवारी फरक भयो। सम्बन्ध फरक भयो।
रेडियोमा बजेको मालश्री धुनले मन माइतीघर पुऱ्याउँथ्यो। उही पुरानो दशैं खोज्न।
साना नानीबाबुहरुले पिङ खेलेको देख्दा उही आँगनकै पिङको झल्को आउँछ।
सबैभन्दा पहिले टिका थाप्ने मेरा निधारले पालो पर्खिने दिन आयो।
हजुरबाको हातको टिका साइतमा नलाएको पहिलो दशैं बन्यो।
समय यहाँ सम्म मात्र आएर रोकिएन । २०७२ सालको महा भुकम्पले कमेरो र माटोले बेहुली झैं सिङ्गरीने घर जुरुक्क उचालेर मेरो खाँबो गाडेर पिङ हाल्ने आँगनमा ल्याएर थुपारिदियो।
पिङ बनाईदिने, दशैं मनाइदिने हजुरबाले संसार छोड्नुभयो । घैयाको चिउरालाई बजारको चिउराले विस्थापित गर्यो।
माटो कमेरोलाई केमीकल रंगले विस्थापित गर्यो ।
गाउँभरी हालिने रोटे पिङ, जाते पिङ र लाठे पिङ सबै लगभग लोप भए झैं भैसके।
हजुरबाको हातको टिका अब सधैंको लागी छुट्यो। हजुरबा नहुनु भएपछि मेरो मनलाई कहिल्यै दशैं आएन ।आज लाग्छ “म” छु र?
आज परदेशमा छु, टिकाको दिन कामको फुर्सद मिलाएर टिका लगाए पछि यहाँ दशैं आउँछ र सुटुक्क जान्छ पनि ।
आज पनि सामाजिक संजालमा शुभकामना सन्देश आउँछ । मालश्री धुन बज्छ ।यो अग्ला अग्ला भवनहरुले भरिएको शहरमा मेरा आँखा तिनै घर खोज्छन, तिनै कोदोबारी, तिनै शितले सिङ्गारिएका मखमली, सयपत्री र गोदावरी खोज्छ । नयाँ लुगाको खातहरुमा नाक त्यही बस्ना खोज्छ।
जब खाली हात र निधार छाम्छु आँखाले, मनले र यो एक्लो बिरानो एकान्तले हजुरबा खोज्छ।
अब ति बालापनका सम्झना केबल स्मृतिपटमा छ । न हजुरबुबा रहनुभयो न बाल्यकालका ती रमाईला दशैं नै ।
यस पालीको दशैं अहिले सम्मकै फरक हुने निश्चित छ ।
कोभिड-१९ सङ्ग लडिरहेको विश्व र कोभिड १९ कै महामारीको चक्रव्युहमा फसिरहेको नेपाल । लामो समयको लकडाउन, त्यस पछिको उच्च कोरोना संक्रमण दर र नेपाल सरकारको कोरोना उपचार सम्बन्धमा हालै भएको निर्णय । यो सबैले यसपालीको दशैं सदाको भन्दा नरमाइलो र खल्लो हुनेछ । तर समयलाई ध्यानमा राखेर सुरक्षित दशैं मनाउनु अहिलेको आवश्यकता पनि हो ।
परिवर्तन समयको माग हो। समय अनुकुल चल्नु हाम्रो कर्तव्य ।
दशैं केवल हाम्रो अनुकुलतामा मनाइने पर्व मात्र होइन। यो हाम्रो संकृति हो, माया प्रेम सद्भाव ,र न्यायको प्रतिक हो । आफ्ना परिवार सॅंगको गहिरो सामिप्यता कायम गर्ने यो सुनौलो अवसर पनि हो। रमाइलो गर्ने आ-आफ्नो तरिका भएपनी दशैंको मर्म मर्न नदिउँ ।
विजया दशमीको हार्दिक शुभकामना ।

No comments:
Post a Comment