भक्तपुर, ९ कात्तिक : शनिबार राति भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ । भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावाद घर भई हाल भक्तपुर नगरपालिका- १ ईटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिव हुसैनको हत्या भएको हो ।
हत्यामा उनीसँगै काम गर्ने भारतीय नागरिक २३ वर्षका सलमान खान र १९ वर्षका सानु अन्सारी संलग्न रहेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिनुभयाे।
उनीहरुलाई नियन्त्रणमा लिएपछि कोठामा खानतलासी गर्दा दुबै जनाको कोठाबाट रगत लागेको लुगा र जुत्ता फेला परेको प्रहरीले जनाएको छ ।
कात्तिक ८ गते उनीहरु तीनैजना संगै बसेर मदिरा सेवन गरेका थिए । राति करिब ९ बजे कारखाना फर्किने क्रममा भक्तपुर नगरपालिका २ ईटापाकोस्थित नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफेन्डको विषयमा शाहिव हुसैनसँग विवाद भएको थियो ।
त्यस क्रममा शाहिव हुसैनलाई सानु अन्सारी र सलमान खान दुबै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरी नरकट घारी खोल्सामा फालेको देखिएको डीएसपी गिरीले जानकारी दिनुभयाे ।
आइतबार विहान ७:५० बजे भक्तपुर नगरपालिका- २ ईटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा मानिस मृत अवस्थामा भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापाको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेको थियो ।
शव हेर्दा टाउको र अनुहार चिन्न नसकिने गरी क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय अपराध महाशाखाको टोली र तालिमप्राप्त २ वटा कुकुर पनि लगी अनुसन्धान गरिएको थियो ।

No comments:
Post a Comment