अमेरिका, २१ कात्तिक : अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान सम्पन्न भएको दुई दिन बितिसकेको छ तर अझै पनि यो प्रक्रियाले विजेताको टुङ्गो लगाइसकेको छैन।
एक करोड ६० लाखभन्दा बढी अमेरिकीहरूको मत गन्ने कार्य जारी रहँदा धमिलो चित्र केही स्पष्ट हुन लागेको हो कि जस्तो देखिँदैछ।
मिशिगन र विस्कन्सिनमा बाइडनको जित हुने प्रक्षेपण गरिएपछि अब अग्रताको लागि देशव्यापी दौड एरिजोना, नेभाडा, जोर्जिआ र पेन्सिल्भेनियामा आएर केन्द्रित भएको छ।
बाइडनको पक्षमा २५३ इलेक्टरल कलेज मत देखिएको छ भने ट्रम्पको पक्षमा २१४ छ।
बाइडनले कसरी जित्न सक्छन्?
पछिल्लो अवस्थालाई विचार गरेर सोझै भन्नुपर्दा बाइडनले अहिले एरिजोना र नेभाडामा जुन अग्रता पाएका छन् त्यसलाई कायमै राखे पुग्छ।
त्यसो हुन सकेमा उनले २७० इलेक्टरल मत पुर्याउन सक्छन् जुन ह्वाइट हाउसमा पुग्ने जित हासिल गर्न आवश्यक न्यूनतम मत सङ्ख्या हो।
बाइडनले एरिजोनामा आफ्नो अग्रतालाई टिकाएर राखेका छन् र त्यहाँ अझै हुलाकबाट पठाइएका केही मतपत्रहरूको गणना हुन बाँकी नै छ।
नेभाडामा दुई उम्मेदवार बीचको मतको अन्तर केही हजार मतको मात्रै छ।
त्यहाँ मतदाता प्रत्यक्ष उपस्थित भएर दिएका मतको सम्पूर्ण गणना सकिएको छ जुन रिपब्लिकनतर्फ ढल्किएको देखिन्छ तर हुलाकबाट प्राप्त मतपत्रहरू गन्न बाँकी छ जुन डेमोक्र्याटको पक्षमा जान सक्ने देखिन्छ।
यसरी हेर्दा राष्ट्रपति पद तर्फको यात्रामा बाइडनको अगाडि रहेका अवरोध केही थोरै देखिन्छ।

No comments:
Post a Comment