नेकपा सङ्कटमा सहमति जुुटाउने प्रयास - pharaksandesh.com

मुख्य समाचार


Monday 2 November 2020

नेकपा सङ्कटमा सहमति जुुटाउने प्रयास


काठमाडौंँ, १७ कात्तिक :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको पछिल्लो विवादले पार्टीको एकतामा गम्भीर सङ्कट उत्पन्न भएको छ तर पार्टीका दोस्रो तहका नेताहरू विवाद समाधान र विभाजन रोक्न सक्रिय भएका छन् ।

पार्टी एकतामै असर पर्ने गरी देखिएको विवाद समाधान गर्न पार्टी महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, शङ्कर पोखरेल, देवेन्द्र पौडेल, प्रदीप ज्ञवाली लगायतका नेताहरू प्रयासमा लाग्नुभएको छ ।

अर्थमन्त्रीसमेत रहनुभएका पार्टी महासचिव पौडेलले पार्टी एकताको विषयमा आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नु भएपछि राजनीतिक तरङ्ग सतहमा आएको हो । उहाँले भन्नुुभएको छ, “यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएको छ, आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडसमक्ष अनुरोध गर्दछु ।”

पार्टी एकतादेखि पछिल्लोे समय पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गर्न महìवपूर्ण भूमिका खेल्नुभएका महासचिव पौडेलले नै सामाजिक सञ्जालमार्फत आफ्नो कुरा सार्वजनिक गर्नु भएपछि पार्टी सङ्कटबारे आइतबार चर्चा बाहिर आएको हो ।

स्थायी कमिटीका सदस्य नेम्वाङले बडो मिहिनेतले एकीकृत भएको पार्टी फुट्दैन भन्नुहुँदै जुटाउनेभन्दा बढी फुटाउने सक्रिय भएका कारण समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र फुटाउने सक्रिय भएका छन् तैपनि पार्टी विभाजन नहोस् भनेर हामी लागेका छौंँ, पार्टी फुट्न दिँदैनौँं ।”

आइतबार बिहान महासचिव पौडेल र स्थायी कमिटी सदस्य नेम्वाङ लगायतका नेताहरूले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग छलफल गर्नुभएको थियो । पार्टीभित्र देखिएको विवाद बैठक बसेर चाँडै समाधान गर्ने पक्षमा प्रधानमन्त्री ओली रहनुभएको उहाँले जानकारी दिनुभयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आइतबार पार्टीका केही शीर्ष नेतासँग खुमलटारस्थित निवासमा छलफल गर्नुभएको छ । शनिबार प्रधानमन्त्री ओलीसँग छलफल गर्नुभएका अध्यक्ष प्रचण्डले आइतबार सचिवालय सदस्यहरू झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेतासँग छलफल गर्नुभयो । पार्टीभित्र देखिएको आन्तरिक विवादलाई समाधानका लागि चाँडै सचिवालय बैठक बस्नुपर्ने नेताहरूले सुझाव दिनुभएको बताइएको छ ।

आइतबार कतिपय सञ्चारमाध्यममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई आ–आफ्नो बाटो लागौँ भन्नुभएको भनी आएका समाचारका सम्बन्धमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष प्रचण्डले नै ‘आ–आफ्नो बाटो लागौँ’ भन्ने प्रस्ताव गर्नुभएको आफूले सुनेको बताउनुभयो । उहाँले खुमलटार बैठकलाई इङ्गित गर्दै फुटपरस्त गतिविधिले कसैको हित नगर्ने प्रतिक्रिया दिनुभयो ।

महासचिव पौडेलले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन र ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको उल्लेख गर्नुभएको छ ।

पार्टी एकता सम्पन्न भएसँगै दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित भएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ तर आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गम्भीर सङ्कटको मोडमा आइपुगेको छ ।

नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने बताउँदै उहाँले आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.