बाँकेमा २४ घण्टामा चार कोरोना सङ्क्रमितको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

बाँकेमा २४ घण्टामा चार कोरोना सङ्क्रमितको मृत्यु


बाँके, १६ कात्तिक :
बाँकेमा कोभिड–१९ का कारण उपचारकोक्रममा रहेका चार जना सङ्क्रमितको दुई दिनको अन्तरालमा मृत्यु भएको छ । कोभिड–१९ विशेष आइसोलेसनमा उपचारको क्रममा रहेका ३ जनाको शनिबार एकजनाको आइतबार बिहान मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार आइतबार बिहान भेरी अस्पतालमा उपचार गराइरहेका कैलालीका एक ६० वर्षीय पुरुषको ज्यान गएको छ ।

टिकापुर नगरपालिका वडा नम्बर १, कैलालीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आइतबार बिहान १ बजे मृत्यु भएको हो ।

उनी कात्तिक १४ गते अस्पतालको प्री आइसोलेसन वार्डमा भर्ना भएका थिए । कोरोनाको आशङ्कामा १४ गते कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको र १५ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भए पछि अस्पतालको कोभिड–१९ वार्डमा भर्ना गरी उपचार सुरु गरिएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । उपचारको क्रममा अक्सिजन, यान्टिबायोटिक लगायतका सबै प्रकारको सपोर्टिभ उपचार गर्दागर्दै आइतबार बिहान १ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यसअघि बाँकेमा शनिबार मात्रै ३ जना सङ्क्रमितको मृत्यु भएको थियो । नेपालगन्ञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेका १ र दाङका २ गरी ३ जना सङ्क्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो ।

शनिबार बेलुका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझाका ६० वर्षीय एक कोरोना संक्रमित महिलाको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बेलुका ५ः३० बजे मृत्यु भएको हो ।

शनिबार बिहानै घोराही नगरपालिका वडा नम्बर ४, दाङका ७० वर्षीय कोरोना संक्रमित एक पुरुष र बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८, दाङकै ७० वर्षीय कोरोना संक्रमित एक पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । उपचारको क्रममा उनीहरूको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको जनाइएको छ ।

बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.