पाटनको प्राचीन अग्निशालामा जस्ता हटाएर तामाको छाना हालिने - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 December 2020

पाटनको प्राचीन अग्निशालामा जस्ता हटाएर तामाको छाना हालिने


ललितपुर, १८ मङ्सिर :
ललितपुर महानगरपालिका–१९ स्थित प्राचीन अग्निशालामा जस्ताको छाना हटाएर अब तामाको छाना राखिने भएको छ । महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर गौरवशाली योजनाअन्तर्गत उक्त काम अघि बढाउन लागेको हो ।

पुरानो सम्पदालाई जोगाइराख्न महानगरपालिकाले रु ४० लाख बजेट छुट्याइसकेको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “अब तुरुन्तै यो काम अघि बढाइनेछ । एकदम राम्रोसँग काम सम्पन्न गर्न सबैलाई आग्रह गर्दछु ।”

कुमारीपाटीमा रहेको कोरियन सप नजीकैको पेट्रोल पम्पबाट हिँडेर दुईदेखि तीन मिनेट परका ती अग्निशालामा पाँच छुट्टाछुट्टै धुनी छन् । यसमा निरन्तर आगो बलिरहने अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “धार्मिक मान्यताअनुसार काठ बालेर निकालिएको आगो काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको रापबाट निकालिएको सूर्याग्नि, पानीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटाबाट निकालिएको जठराग्नि नामक अग्नि पाँच धुनीमा बालिन्छ ।”

चार हजार वर्षअघि सो अग्निशाला निर्माण भएको अनुमान गरिएको र सोबारे उल्लेख भएका शिलालेख हालसम्म कतै नभेटिएको पुजारीहरुको भनाइ छ । सो अग्निशालामा पूजापाठ गर्दा लागेको ग्रहदशा हटेर जान्छ भन्ने मान्यता छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.