नेपाललाई कुन देशले कस्तो सैन्य सहयोग दिइरहेका छन्? - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 December 2020

नेपाललाई कुन देशले कस्तो सैन्य सहयोग दिइरहेका छन्?


काठमाडाैँ, १७ मङ्सिर : 
चिनियाँ स्टेट काउन्सिलर तथा रक्षा मन्त्री जनरल वे फङ्खको एक दिने काठमाण्डू भ्रमणले नेपाली सेनासँग भारत र अमेरिकाकै स्तरको वा त्यो भन्दा अझ निकट सम्बन्ध गाँस्ने बेइजिङको चाहनालाई प्रतिविम्बित गरेको कतिपय विज्ञहरूले बताएका छन्।

नेपाली सेना स्थायी शक्तिको स्रोतका रूपमा रहेको र अहिले विश्व राजनीतिमा देखा परिरहेको भूराजनीतिक उथलपथलमा नेपालमा सेनासँगको सम्बन्ध विश्वासिलो बनाउनु क्षेत्रीय र विश्वशक्ति राष्ट्रहरूका लागि महत्त्वपूर्ण बन्दै गएको विश्लेषकहरू बताउँछन्।

अमेरिका र भारतसहितका साझेदार एकातर्फ अनि चीन अर्कोतर्फ उभिएको नयाँ शीतयुद्ध जस्तै परिस्थिति विकास भइरहेको भन्दै त्यसका प्रभावहरू नेपालमा पनि पर्नसक्ने टिप्पणीकारहरूले बताइरहेका छन्।

रक्षामन्त्री जनरल फाङ्खको भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रधानसेनापतिसँग क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल गरेको चिनियाँ पक्षले जनाएको छ।

भारतसँग ब्रिटिश इण्डियाकै पालादेखि रक्षा सम्बन्ध भएको नेपालले संयुक्त राज्य अमेरिकासँग सन् १९६० को दशकको मध्यमा सैन्य सहायताहरू प्राप्त गर्न थालेको थियो।

चीन र नेपालबीचको रक्षा सहकार्य भने सन् १९८० को अन्त्यतिर अघि बढेको हो।

नेपाली सेनाका प्रवक्ता पौडेल नेपालको परराष्ट्र नीतिकै आधारमा सबैसँग सैनिक सम्बन्ध विस्तार गरिएको बताउँछन्।

उनले भने, "भारतीय सेनासँग हाम्रो राम्रो सम्बन्ध छ र चिनियाँ सेनासँग पनि हाम्रो राम्रो सम्बन्ध छ। सैनिक सम्बन्ध भनेको हाम्रो परराष्ट्र नीतिकै अङ्ग हो। त्यहीँ आधारमा हामीले सबैसँग सम्बन्ध अघि बढाउने हो।"

जानकार अधिकारीहरूका अनुसार अहिले पनि नेपाललाई सबैभन्दा ठूलो परिमाणमा सैन्य सहयोग उपलब्ध गराउने देश भारत हो।

दुई देशबीच सैन्य सहायताका बारेमा छलफल गर्ने अलग्गै संयन्त्र नै छ। भारतले नेपाललाई सशुल्क, नि:शुल्क वा सहुलियत दरमा हतियार तथा गोलीगठ्ठाजस्ता सामग्री उपलब्ध गराउने गरेको छ।

नेपाल र भारत बीचको संयुक्त अभ्यासमा दुई देशका १६ सय बढी सैनिक सहभागी हुने गरेका छन्।

चिनियाँ सहायता चाहिँ बढी विपद् व्यवस्थापन र स्वास्थ्य जस्ता गैरघातक क्षेत्रमा केन्द्रित छ।

शान्ति सेनालाई आवश्यक पर्न बन्दोबस्तीका सामग्री पनि चीनले नेपाललाई उपलब्ध गराउने गरेको छ।

नेपाल र चीनबीच सन् २०१६ मा शुरू भएको संयुक्त सैन्य अभ्यास अझै सानो तहमा नै अघि बढिरहेको छ।

अमेरिकासँग नेपाली सेनाले उच्च हिमाली भूगोलमा विशेष तालिमसहित अन्य संयुक्त अभ्यासहरू गर्ने गर्छ।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डसँग मिलेर विपद् व्यवस्थापन र शान्ति स्थापनाजस्ता विषयमा नेपाल र अमेरिकाबीच कैयौँ दुईपक्षीय र बहुपक्षीय आदानप्रदान भएका छन्।

अमेरिका, भारत र चीन तीनै देशमा नेपाली सेनाले तालिमका लागि शिक्षार्थीहरू आदानप्रदान गर्ने गरेको छ।

अमेरिकाले अनुदानमा वा रकम लिएर सेनालाई हतियार तथा सैन्य उपकरण उपलब्ध गराउने गरेको छ।

दुई वर्षअघि नेपाली सेनाले अमेरिकाबाट एम सिक्स्टिन सहितका अत्याधुनिक हतियार खरिद गर्ने टुङ्गो लागे पनि रकम तिर्ने ढाँचामा केही अघि मात्रै दुई देशबीच सहमति भएका विवरण आएका थिए।

उसो त पञ्चायतको अन्त्यतिर नेपालले चीनसँग विमानलाई मार हान्न सक्ने एन्टी एअर क्राफ्ट गन र एके-४७ राइफलजस्ता हतियार खरिद गरेको बताइन्छ।

भारत, अमेरिका र युरोपेली देशले सक्रिय शाही शासनकालको विरोधमा नेपाललाई हतियारको आपूर्ति रोक्दा सन् २००५ मा चीनले सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

दोस्रो जनआन्दोलनमार्फत् भएको राजनीतिक परिवर्तनसँगै नेपाली सेना र सशस्त्र प्रहरीसहितका सुरक्षा संयन्त्रसँग बेइजिङले तीव्र रूपमा सम्बन्ध विस्तार गरेको देखिन्छ। (बीबीसीबाट)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.