काठमाडाैँ, ४ पुस : नेकपाका आन्तरिक विवादका कारण राजनैतिक संकटकाे आशंका गरिरहेकाे अवस्थामा आज प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर भेट गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले आज प्रचण्ड निवास नै पुगेर भेट गर्नुलाई अर्थपूर्ण मानिएकाे छ ।
शनिवार प्रधानमन्त्री केपी शर्मा ओली उहाँकै निवास पुगेर छलफल गर्नुभएकाे छ। नेकपा गम्भीर सङ्कटमा परेको देखिएका बेला ओली र प्रचण्डबीच भएको छलफलमा नेकपा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएकाे थियाे ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सुरुको १०-१५ मिनेट दुई अध्यक्षबीच केहीबेर छलफल भएपछि उपाध्यक्ष गौतम पुग्नुभएकाे हाे । त्यसपछि दुवै अध्यक्षबीच भएको छलफलमा गौतम सहभागी हुनुभयाे ।
करिब एक घन्टा भएको प्रधानमन्त्रीसँगको छलफल लगत्तै प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छुट्टै परामर्श गर्नुभएकाे छ ।
प्रचण्डलाई भेट्न नेता नेपाल उहाँकै निवास पुग्नुभएकाे थियाे । उहाँहरूबीचको छलफल पनि सकिएको छ। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पार्टीमा देखिएको विवादबारे जारी छलफलको निरन्तरताको रूपमा दुवै अध्यक्षबीच वार्ता भएको बताउनुभयाे।
उहाँले भन्नुभयाे, "पहिले बालुवाटारमा छलफल हुन्थ्यो आज खुमलटारमा भएको हो। विषय र अडान उही हो। सहमति भइसकेको छैन।"
उहाँका अनुसार प्रधानमन्त्रीले पार्टी बैठकमा प्रचण्डले प्रस्तुत गरेको दस्तावेज फिर्ता लिन आग्रह गर्नुभएकाे भने प्रचण्ड त्यसबारे बैठकमै छलफल गरेर टुङ्गो लगाउने अडानमै हुनुहुन्छ।
पार्टीभित्रको विवाद निकै गहिरिएको देखिएका बेला दुई अध्यक्षबीच भएको छलफल निर्णायक मोडमा पुगेको ठानिएको छ।
कतिपयले उपाध्यक्ष गौतमको उपस्थितिलाई त्यसैको सङ्केत मानेका छन्।
प्रधानमन्त्री ओलीले हालैको स्थायी कमिटी बैठकमा नेता गौतमलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभएकाे समाचारहरू आएका थिए। उहाँले यसअघि पनि त्यस्तै प्रस्ताव गर्नुभएकाे थियाे। तर राष्ट्रिय सभाका सदस्य रहेका गौतमको निम्ति प्रधानमन्त्री बन्न संवैधानिक अप्ठेरो छ।
त्यसैले उहाँलाई कसरी र कहिले प्रधानमन्त्री बनाउने भन्ने विषयमा गौतमलाई नै साक्षी राखेर प्रधानमन्त्री ओलीले प्रचण्ड समक्ष 'निर्णायक प्रस्ताव' राखेका पो हुन् कि भन्ने अनुमान पनि गरिएको छ।
तर गौतमका एकजना सहयोगी पत्रकार विश्वमणि सुवेदीले 'त्यसबारे केही कुरा नभएको र दुई अध्यक्षबीच देखिएको विवाद हल गर्न सहजीकरण गरेको' जानकारी गौतमले दिएको बताउनुभयाे।
खुमलटारबाट निस्किएर प्रधानमन्त्री विवादमा तटस्थ रहेका भनिएका गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्य रामबहादुर थापाको सरकारी निवास पुग्नुभएकाे थियाे ।
'जबरजस्ती सरकार परिवर्तन गर्दा त्यसले अस्थिरता निम्त्याउँछ' भन्ने पक्षमा रहेका भनिएका गृहमन्त्री थापाले पार्टी बैठकमा प्रधानमन्त्रीलाई नै सहयोग पुग्ने खालको मत राख्ने गरेको समाचारहरू आउने गरेका छन्।
पछिल्लो विवादमा गौतम भने खुलेर प्रचण्डलाई साथ दिएको देखिएको छ। बैठक बोलाउन हस्ताक्षर गर्ने पाँचजना सचिवालय सदस्यमा उहाँ पनि हुनुहुन्छ।
No comments:
Post a Comment