चितवन, २५ मङ्सिर : चितवनको नारायणी नदी किनारलाई ‘सी बिच’ को रुपमा विकास गर्ने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाको रुपमा ‘सी बीच’ मोडल अगाडि ल्याएको हो । देशकै मध्यभागमा पर्ने नारायणी नदी किनारलाई पर्यटकीय आकर्षक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
‘लामो समयदेखिको कसरत पुरा भएको छ, मेयर रेनु दाहालले भन्नुभयो हामीले एकपछि अर्को गर्दै भरतपुरको विकासमा ‘सी बीच’ मोडल ल्याएका हौँं ।दाहालले यस मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव बढाउने बताउनुभयो । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि (बुधबार) टेण्डर आब्हान समेत गराएको छ । झण्डै ६ करोड रुपैयाँ लागतमा डेढ बर्षभित्र काम सम्पन्न गर्ने टेण्डर आब्हान गरिएको छ ।
जहाँ २ हजार ४ सय मिटर पैदल मार्ग, २ ठाउँमा पार्किङ स्थल र गार्डेनिङ बनाइनेछ । नारायण नदी किनारको लागि महानगरले यसअघि नै २३ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेकोे थियो ।
गतवर्ष महानगरपालिकाले करिब एक करोडको लागतमा नदी किनारमा टायल बिछ्याउने काम गरिसकेको छ । यस्तै नारायणी नदी किनारमै रिगंरोडसहितको तटबन्धनको काम भइरहेको छ ।
पछिल्लो समयमा नारायणी नदी किनारमा मानिसहरुको भिड लाग्ने गर्दछ । विभिन्न ठाँउ मोटर बाेट सयर गर्दै रमाउनेहरुको संख्या पनि उतिकै छ । यस थप पर्यटक बढाउने महानगरले विश्वास लिएको छ । नारायणगढ बजार नजिकै रहेको नारायाणी नदी किनारमा अहिले पनि एक दर्जन साना मोटरबाेट सञ्चालनमा छ । यहाँ हरेक वर्ष ठुला मेला तथा महोत्सव लाग्दै आएको छ । यही स्थानलाई सि बिचको रुपमा अगाडि बढाउन लागिएको हो । हरेक दिन यहाँ दुइ हजारभन्दा धेरै व्यक्ति घुम्न आउने गर्दछन् ।



No comments:
Post a Comment