मेलमिलाप नीतिको आजको सान्दर्भिकता नै जनाधिकारको रक्षा हो : सभापति देउवा - pharaksandesh.com

मुख्य समाचार


Thursday 31 December 2020

मेलमिलाप नीतिको आजको सान्दर्भिकता नै जनाधिकारको रक्षा हो : सभापति देउवा


काठमाडौं, १६ पुस :
वीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नु भएको पुस १६ गतेका अवसरमा नेपाली कांग्रेसले हरेक बर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।

यसै सन्दर्भमा आज ७७ जिल्लामा एकसाथ कार्यक्रम भइरहेका छन् । यही अवसरमा सूचना, संचार तथा प्रचार विभागले भर्चुअल माध्यममार्फत पार्टीको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुभएको छ ।

सभापति देउवाले वीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । “मेलमिलाप नीतिको मुल चुरो हिजो पनि जनता थिए, जनताको अधिकार र लोकतन्त्र थियो, आज पनि त्यही नै हाम्रो साझा र मुल बाटो हो”- देउवाले भन्नुभयो ।

वीपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राख्नु भएको स्मरण गर्नुहुँदै सभापति देउवाले जनताको लोकतान्त्रिक हक अधिकार शान्तिपूर्ण ढंगले जनतालाई दिलाउन उहाँले लिएको नीतिकै जगमा २०४६ सालको परिवर्तन भएको उल्लेख गर्नुभयो ।

मेलमिलापको नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोज्यो, तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो रोजेको सभापति देउवाको भनाइ थियो ।

वीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु भएको उहाँले स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको र यसका विरुद्ध देशव्यापी प्रदर्शन भएको उहाँले बताउनुभयो ।

‘मेलमिलाप नीतिको आजको सान्दर्भिकता नै जनाधिकारको रक्षा हो’- देउवाले भन्नुभयो ।

सभापति देउवाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बर्धन गर्नु नै काँग्रेसको मुल अभिभारा भएको स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.