काठमाडौं, ४ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापनाको माग गर्दै आन्दोलनमा जान नेता बुद्धिमान तामाङको नेतृत्वमा संघर्ष समिति गठन गरेको छ । राप्रपाको काठमाडौं उपत्यका स्तरीय भेलाले आन्दोलनको नेतृत्वका लागि नेता तामाङलाई जिम्मेवारी सुम्पिएको हो ।
नयाँ बानेश्वरमा भएको भेलामा राप्रपा अध्यक्ष पशुपति शम्सेर राणाले संघर्ष समितिको नेतृत्वका लागि तामाङको नाम प्रस्ताव गरेकोमा भेलाले त्यसलाई अनुमोदन गरेको थियो । राप्रपाले पुस १७ गते काठमाडौंमा बृहत प्रदर्शनी गर्ने नेता तामाङले बताउनुभयाे । उहाँले यो संघर्ष राप्रपाको जीवनका लागि गर कि मर सरह भएको बताउनुभयाे ।
कार्यक्रममा अध्यक्ष राणाले राष्ट्रपति एउटा दलको मात्र नभएर दलको पनि एउटा गुटको भएको उल्लेख गर्दै अब मुलुकलाई शाहबंशीय राष्ट्रप्रमुख अपरिहार्य रहेको बताउनुभयाे । उहाँले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दाका लागि राप्रपा सडकमा उत्रिएको उद्घोष गर्नुभयाे ।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय मुद्दा र आवश्यकता भएको बताउनुभयाे । अर्का अध्यक्ष कमल थापाले विगतका कमिकमजोरीबाट सच्चिँदै एकीकृत भई संघर्षको तयारीमा जुटन कार्यकर्तालाई आग्रह गर्नुभयाे ।
कार्यक्रममा संघर्ष समितिका अध्यक्ष बुद्धिमान तामाङले बागमती प्रदेशका सबै केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र क्षेत्रीय अध्यक्ष तथा भ्रातृ संगठनका अगुवाहरूलाई समेटेर संघर्ष समितिलाई पूर्ण बनाउने जानकारी दिनुभयाे ।
राप्रपाले डेढ वर्षअघि तामाङकै नेतृत्वमा यस्तै संघर्ष समिति गठन गरेको थिए । त्यसले आन्दोलन गरेपछि सरकारले वार्तासँग वार्ता पनि भएको थियो । राप्रपाको राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डामा ओली सरकार वार्तामा बसिसकेको थियो । यसबीचमा कोरोना महामारी र राप्रपा एकताका कारण वार्ता त्यतिकै रोकिएको थियो ।
No comments:
Post a Comment