सर्लाही, ६ पुस : सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग सोमबारबाट सञ्चालनमा आएको छ । उद्योगले सोमबार विहान ११ः४५ बजेबाट उखु क्रसिङ गर्न सुरु गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । यो सिजनका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको थियो ।
उखु प्रवन्धक रजकका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गतवर्ष २६ लाख ६७ हजार ९७१ क्विन्टल उखु क्रसिङ गरेको इन्दुशङ्करले दशैँअघि नै किसानको सम्पूर्ण भुक्तानी गरेको थियो । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये उत्तरी भेगको इन्दुशङ्कर चिनी उद्योग सोमबारबाट सञ्चालनमा आए पनि दक्षिणी भेगमा रहेको महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल सञ्चालनबारे भने अन्यौल छ । यी दुवै चिनी उद्योगविरुद्ध सर्लाहीको दक्षिणी भेगका किसानहरु अहिले काठमाडौं गएर आन्दोलन गरिरहेका छन् ।
गत वर्ष सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन/चार वर्षअघिकै भुक्तानी दिन बाँकी छ । दुई वर्ष उखु क्रसिङ गरिसकेको महालक्ष्मी चिनी उद्योग भने यो वर्ष पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । उद्योगले आफ्नो तर्फबाट सम्पूर्ण भुक्तानी गरिसकेको दावी गर्दै आएपनि किसानहरुले भने सो उद्योगबाट पनि केही रकम पाउन बाँकी रहेको आन्दोलनका क्रममा बताइरहेका छन् ।
उद्योग मन्त्रालयद्वारा गठित कार्यदलले यसवर्षका लागि किसानलाई प्रतिक्विन्टल उखुको मूल्य ५४४ रुपियाँ दिन सिफारिस गरिसकेको छ । किसान नेताहरुले भने उक्त मूल्य मान्य नहुने बताउँदै आएका छन् ।

No comments:
Post a Comment