आरोप पत्र फिर्ता लिन आग्रह - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 27 January 2021

आरोप पत्र फिर्ता लिन आग्रह


सप्तरी, १४ माघ :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएका आरोप फिर्ता लिनुपर्ने बताउनुभएको छ ।नेकपा सप्तरीद्वारा मङ्गलबार राजविराजमा आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले आरोप फिर्ता लिएर निर्र्वाचनमा सहभागी भए सहमतिको सम्भावना हुन सक्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सप्तरीको विकास हुन नसक्नुमा केही नेता जिम्मेवार रहेको उल्लेख गर्दै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि नबढ्नुमा प्रदेश २ सरकार र तत्कालीन स्वास्थ्य मन्त्री दोषी रहेको आरोप लगाउनुभयो ।

तत्कालीन उद्योग मन्त्री मातृका यादवलाई औद्योगिक क्षेत्रको व्यवस्थापन गर्ने जिम्मेवारी दिए पनि जिम्मेवारी पूरा गर्न नसकेको आरोप उहाँले लगाउनुभयो । राजविराज औद्योगिक क्षेत्रलाई नयाँ ढङ्गले सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको जानकारी उहाँले दिनुभयो ।

नेकपा प्रदेश २ का अध्यक्ष तथा सहरी विकास मन्त्री प्रभु साहले असली र नक्कली माओवादी चिन्न आग्रह गर्दै प्रचण्डलाई धोकेबाजको संज्ञा दिनुभयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्नु जनताको आँखामा छारो हाल्ने काम भएको तर्क गर्नुभयो ।

नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले जनताले समयमै नेताको पहिचान गर्न सक्नुपर्ने बताउनुभयो । स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रचण्डले मांसाहारी आन्दोलनको घोषणा गर्न लागेकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम सही भएको दाबी गर्नुहुँदै निर्वाचनले देशको राजनीतिक भविष्य तय गर्ने दाबी गर्नुभयो । कार्यक्रममा तत्कालीन तराई जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष एवं जसपाका केन्द्रीय सदस्य रामनारायण यादव सहितका दर्जनौँ व्यक्ति नेकपामा प्रवेश गर्नुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.