देशमा पुरानाे व्यवस्था पुनर्स्थापना हुन दिँदैनाैँ : माधवकुमार नेपाल - pharaksandesh.com

मुख्य समाचार


Thursday, 7 January 2021

देशमा पुरानाे व्यवस्था पुनर्स्थापना हुन दिँदैनाैँ : माधवकुमार नेपाल


काठमाडाैँ, २३ पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुनर्स्थापना हुन नदिने बताउनुभएको छ । 

बुधबार नेकपाको आफ्नो समूहको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशमा सङ्कटकाल लगाउने, अनेक खालका षड्यन्त्र, तानाबाना बुनिएको सुनिरहेको भन्दै यस्ता षड्यन्त्र सफल नहुने उहाँले बताउनुभयो ।

पुरानो व्यवस्थाको पुनर्स्थापना हुन्छ भन्नेमा कसैले सपना नदेख्न उहाँको आग्रह छ । पुरानो व्यवस्थाको पुनर्स्थापना हुने कुनै सम्भावना नरहेको र हुन नदिने उहाँले बताउनुभयो । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताउनुभयो । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उहाँको भनाइ छ । वैशाखमा चुनाव नहुने पनि उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सधैँभरि अग्रगमनको पक्षमा रहने बताउनुभयो । प्रतिगमनको पक्षमा नजाने उहाँको भनाइ छ ।

गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिक दलहरुले यसको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । बुधबार नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राखेका थिए । 

प्रतिनिधि सभा विघटनपछि मध्यावधि चुनावका लागि आउँदाे वैशाख १७ र २७ गते मिति तय गरिएकाे छ । यद्यपि प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.