काठमाडाैँ, १५ माघ : नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधवार नौ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बुधवार ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार खोप लगाउनेमध्ये प्रदेश १ मा एक हजार दुई सय ५५ जना, प्रदेश २ मा सात सय २६ जना, वाग्मती प्रदेशमा दुई हजार छ सय ९४ जना र गण्डकी प्रदेशमा एक हजार आठ सय ४३ जना रहेका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा सात सय ३३ जना, कर्णालीमा सात सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएकाे मन्त्रालयले जनाएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । ७७ वटै जिल्लामा खोप केन्द्र सञ्चालन गरेर आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारले जनाएको छ ।
पहिलो डोज खोप लगाएकाहरूले २८ दिनपछि दोस्राे डोज खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
खोप अभियानको शुभारम्भ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँलाई नयाँ चरणमा उठाएकाे बताउनुभयो । अब कोरोना नियन्त्रणका लागि महत्त्वपूर्ण चरणमा पुगेको भन्दै उहाँले तीन महिनाभित्र खोप लगाउन योग्य सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने दाबी पनि गर्नुभयो ।
उहाँले कोरोनाविरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्न नहुने भन्दै सरकारले सबैलाई निःशुल्क उपलब्ध गराउने बताउनुभयो ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको अभियानमा अग्रपङ्क्रतिमा रहि सेवा प्रदान गर्ने सबैमा आभार व्यक्त गर्नुभएको छ । कोरोनाविरूद्धको खोप शुभारम्भका अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले विश्वका सबै देशमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्ट मान्यता रहेको बताउनुभयो ।
No comments:
Post a Comment