काठमाडौं। आफ्ना दाजुको हत्यारालाई मारेर बदला लिनको लागि एक युवतीले निकै खतरनाक जाल बिच्छ्याएको खुलासा भएको छ । ती बहिनीले दाजुको हत्यारालाई पहिले प्रेममा फसाइन् त्यसपछि भेट्न बोलाइन् । जब युवक भेट्न आए उनले युवकलाई अपहरण गराइन् । अपहरणपछि जब युवकलाई जंगलमा लगेर मार्न खोजियो अन्तिममा योजना विफल भयो । इण्डिया टुडेका अनुसार मुम्बइमा भएको यो घटनामा ती युवती र अन्य ५ जनालाई पुलिसले पक्राउ गरेको छ ।
जून २०२० मा मुम्बइको मलाड क्षेत्रमा पार्किङको विषयमा दुई गुटबीच भिडन्त भएको थियो भिडन्तमा मोहम्मद सादिक नामका युवकले २४ वर्षका अल्ताफ शेखको हत्या गरे । हत्यापछि सादिक दिल्ली भागे । यो घटनाले अल्ताफकी बहिनी यासमिनलाई ठूलो धक्का लाग्यो । त्यही समयमै उनले दाजुको हत्याको बदला लिने प्रण गरिन् । उनले आफ्ना दाजु अल्ताफका साथीहरु फारुक शेख (२०), ओवैसी शेख (१८), मनिष सैयद (२०), जाकिर खान (३२) र सत्यम पाण्डे (२३) लाई आफ्नो साथमा मिलाएर सादिकलाई मारेर बदला लिने योजनामा काम सुरु गरिन् ।
अल्ताफको हत्या भएको एक महिनापछि यासमिनले अल्ताफका साथीहरुलाई मालवानी इलाकामा भेटिन् । त्यहाँ सादिकलाई हनीट्रयापमा फसाएर मार्ने योजना बन्यो । यसको लागि यासमिनले फर्जी इन्स्टाग्राम अकाउन्ट बनाइन् र सादिकसँग कुरा गर्न सुरु गरिन् । यस क्रममा उनले सादिकसँग प्रेमको नाटक गरिन् र विस्तारै उनलाई आफ्नो प्रेमजालमा फसाइन् । प्रेमको नाटक गर्दै उनले सादिकलाई मुम्बइ भेट्न बोलाइन् । यासमिनको पटक–पटकको अनुरोधपछि १ हप्ता अघिमात्र सादिक यासमिनलाई भेट्न दिल्लीबाट मुम्बइ पुगे ।
यही शनिबार यासमिनले सादिकलाई मुम्बइको छोटा कश्मिर क्षेत्रमा भेट्न बोलाइन् । तर, भेट्नको लागि त्यहाँ यासमिन आफू गइनन् । त्यहाँ अलताफका ५ जना साथीहरु सादिकलाई पर्खेर बसे । उनीहरु एउटा एम्बुलेन्समा पर्खेर बसेका थिए । जब सादिक त्यहाँ पुगे, पाँचैजनाले मिलेर सादिकलाई अपहरण गरेर एम्बुलेन्समा हाले । उनीहरुले सादिकलाई वसइ नायगांव क्षेत्रको जंगलमा लगेर मार्ने र उनको शव त्यतै व्यवस्थापन गर्ने योजनाअनुसार उनलाई लिएर गए ।
तर, अपहरणको क्रममा एक स्थानीयले उनीहरुले सादिकलाई जबरजस्ती एम्बुलेन्समा हालेको देखेका थिए । ती स्थानीयले पुलिसलाई खबर गरिदिए । त्यसपछि पुलिसले उनीहरुको खोजी थाल्यो । उता एम्बुलेन्समा भागिरहेका बेला एम्बुलेन्सको पेट्रोल सकिएपछि अपहरणकारीहरुले इनोवा कार भाडामा लिए । सादिकलाई लिएर भाग्दै गरेका आरोपीहरुलाई पुलिसले पश्चिमी एक्सप्रेस हाइवेमा दहिसन चेक नाकामा पक्राउ गर्यो र सादिकलाई बचायो । पुलिसले यासमिन र अन्य ५ जना सबैलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । पुलिसले अघिल्लो अपराधको लागि सादिकलाई पनि हिरासतमा राखेको छ ।
No comments:
Post a Comment