विराटनगर, १६ माघ : प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज विराटनगरमा विशाल जनप्रदर्शन गर्दैछ । पार्टीका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल तथा झलनाथ खनालले विराटनगरको केन्द्र जनआन्दोलन(महेन्द्र)चौकमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा प्रदेश कमिटिको आयोजनामा हुने जनसभामा प्रदेशभरका सबै जिल्लाबाट अध्यक्ष प्रचण्डसहितका नेताहरुको सम्बोधन सुन्न र आन्दोलनमा ऐक्बद्धता जाहेर गर्न कार्यकर्ताहरुको उपस्थिति हुने दावी गरिएको छ । तेश्रो चरणको आन्दोलन घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज माघ १६ गते सहिद दिवसका दिन विशाल जनसभामार्फत असंवैधानिक कदम विरुद्धको नयाँ सन्देश दिने योजनामा रहेको छ । विराटनगरको जनसभामा सहभागीहरुको उल्लेख्य उपस्थिति हुने भएकोले उनीहरुले प्रयोग गरेर आएका सवारी, दैनिक सञ्चालन हुने यातायातका साधन र भन्सार जाँचपास गरेर आउने मालवहाक सवारीको आवागमन प्रभावित हुने भएको छ ।
यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले भन्सारबाट औद्योगिक कच्चा बोकेर छुटेका मालवहाक सवारीलाई रानी क्षेत्रमै रोक्ने ‘होल्ड’ गर्ने भएको छ । बसपार्कबाट छुट्ने र बसपार्कमा आउने यात्रुबहाक बसको लागि समेत छुट्टाछुट्टै बाईपास सडकको प्रयोग गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र खड्काका अनुसार बसपार्कबाट छुट्ने सवारीलाई बसपार्क पश्चिमको नयाँ गुद्री उत्तर केसलिया–बरगाछी सडकबाट पठाउने तयारी गरिएको छ । यसैगरी बसपार्क आउने यात्रुबहाक सवारीलाई कन्चनबारी पूर्वबाट बाईपास गरेर तीनपैनी, सीडीओ कार्यालय–शहीद रंगशालाबाट बाईपास देवकोटाचौक दक्षिण हुँदै बसपार्कसम्म आउने रुट तयार गरिएको छ ।
No comments:
Post a Comment