काठमाडौँ, ३ माघ : पूर्वसभामुख तथा नेकपा (ओली समूह)का स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेल वर्तमान मन्त्रिपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको बताउनु भएकाे छ ।
पार्टीको प्रदेश-१ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा नेम्वाङले निर्वाचन आयोगले निर्वाचन आचार-संहिता जारी नगर्दासम्म सरकारले सम्पूर्ण काम गर्न पाउने बताउनुभयाे ।
वर्तमान सरकारले संविधानअनुसार नै काम गरिरहेको उहाँको भनाइ छ । संसद् विघटन भइसकेपछि सरकारले गरेका विभिन्न काममा प्रश्न उठाइएको भन्दै उहाँले सरकार संविधानअनुसार नै कार्यरत रहेको दाबी गर्नुभयाे । संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्ने व्यवस्था गरेको उहाँले बताउनुभयाे ।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गराउदैन भनि भ्रम फैलाउँदै सर्वोच्चलाई अनावश्यक दबाब दिन खोजिएको नेम्वाङको भनाइ छ ।
उहाँले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताउनुभयाे । देशको संविधान, कानुन तथा विगतको अभ्यासहरूको आधारमा पार्टीको आधिकारिकता आफुहरूले पाउनुको विकल्प नरहेको उहाँको भनाइ छ ।
नेम्वाङले संविधानमा संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार पनि हुने बताउनुभयाे । संविधानले प्रधानमन्त्रीको विशेषाधिकारलाई निषेध नगरेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आफुलाई बहुमत हुँदाहुँदै काम गर्न नदिएको भन्दै जनतामा जाने निर्णय गरेकाले जनतामा जाने कुरा ठिक कि बेठिक भन्ने चुनाव हुँदा जानताले नै फैसला गर्ने नेम्वाङले बताउनुभयाे ।

No comments:
Post a Comment