आकाशे पानीमा निर्भर कृषि - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

आकाशे पानीमा निर्भर कृषि

काठमाडौँ, २३ असार : अहिले रोपाइँको चटारो हुने समय हो । असार महिना सकिन लाग्दा पनि वर्षा नभएपछि किसानहरु निराश हुनुपर्ने अवस्था आएको छ । नेपाल कृषि प्रधान देश । कुल जनसंख्याको करिब आधाभन्दा धेरै जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषिमा निर्भर रहेको छ । तर पनि कृषि उत्पादनको लागि आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता किसानलाई रहेको छ ।

देशमा करिब ४० प्रतिशतको हाराहारीमा मात्रै धान रोप्ने कार्य सम्पन्न भएको छ । जुन स्थानमा सिंचाइ सुविधा पुगेको छ त्यो स्थानमा मात्रै रोपाइ सकिएको हो । कतिपय स्थानमा बोरिङबाट सिंचाइ गरेर बालि लगाइएको छ भने कतिपय स्थानमा नहरको पानीले खेत सिंचाइ गरिएको छ । तर जहाँ दुवै उपायबाट सिंचाइ हुन सकेको छैन त्यहाँ अहिलेपनि किसानहरूले आकाशे पानी कुर्नुको विकल्प छैन । 

सरकारले कृषि आधुनिकीकरण गर्ने नारा दिएर कृषि यन्त्रीकरणमा जोड दिँदै आएको छ । सहुलियतमा कृषि औजार र उपकरण वितरणमा सहयोग गर्दै आएको छ । तर कृषि उत्पादनको लागि आवश्यक पर्ने पानीको व्यवस्थापन गर्न खासै चासो दिएर काम गरेको छैन । जनताले स्थानीयस्तरमा बनाउने नहर वा कुलेसोले मात्र सिंचाइ पु¥याउन सहज छैन । सरकारले केहि समय अगाडि खेत सिंचाइ गर्न भनेर पानी तान्ने मोटर वितरणसमेत गरेको थियो तर त्यसले दिर्घकालिन समस्या समाधान हुन सक्दैन । जलस्रोतको धनी राष्ट्र नेपालले त्यसै खेर बगिरहेको पानीलाई सिंचाइ प्रयोजनको लागि उपयोग गर्न सकेमा कृषि क्रान्ति व्यवहारत सम्भव हुनेछ ।

हाल अधिकांश कृषियोग्य जमिनमा एक बाली लगाउने अवस्था छ त्यो पनि आकाशे पानीको भरमा । सिंचाइको पूर्वाधार विकासमा सरकारले लगानी पर्याप्त गर्न सकेको छैन । सरकारले केहि सिंचाइ आयोजन निर्माण गरिरहेको भएपनि समयमा सम्पन्न भएको छैन । निर्माणधीन आयोजनाको काम सुस्त गतिमा भएको कारण पनि केहि आयोजना सम्पन्न हुन समय लाग्ने देखिन्छ । र त्यतिले मात्र पनि खेतियोग्य जमिनको सिंचाइको लागि पर्याप्त हुने अवस्था छैन । 

अहिले किसानहरु कुन बेला पानी पर्छ र धान रोप्न पाइने हो भन्दै आकाश हेरेर बस्न बाध्य छन् । कतिपय ठाउँहरुमा सुख्खा भएर धानको बेर्ना सुक्न थालिसकेको अवस्था छ । मुख्यबाली नै धान रहेको तराई क्षेत्रमा अझै केहि दिन पानी नपर्ने हो भने यस वर्षको धान उत्पादन घट्ने निश्चित छ । सरकारले सहुलियतमा वितरण गरेको बोरिङबाट सबै खेतियोग्य जमिन सिंचाइ सम्भव छैन । 

नेपाललाई कृषि आधुनिकीकरण गर्नको लागि पहिला सिंचाइको पूर्वाधार व्यवस्थापन गर्नु आवश्यक छ । त्यसपछि कृषि उत्पादनमा आवश्यक मलखाद्यको उचित वितरण हुनुपर्दछ । आकाशे पानीको निर्भरतालाई अन्त्य गरेर जुनसुकै समयमा खेति गर्न किसानले सक्ने वातावरण बनाउन सकेमा यथार्थमा कृषि क्रान्ति हुने र कृषि क्षेत्र व्यवसायीकरण हुनेछ ।

आकाशे पानीमा निर्भर हाम्रो कृषि प्रणालीलाई ठूूला सिंचाइ आयोजना द्रतगतिमा निर्माण गरेर जमिन सिंचाइको सुविधा उपलब्ध गराउनु आवश्यक छ । नहरबाट सिंचाइ गर्न सम्भव नहुने ठाउँमा बोेरिङबाट पानी तानेर जमिन सिंचाइ गर्ने व्यवस्था गर्नु पर्दछ । कृषिलाई आवश्यक पर्ने पानी र मलखाद्यको उचित व्यवस्थापन र वितरण विना यान्त्रिक उपकरणले मात्र उत्पादकत्व वृद्धि हुन नसक्ने भएकाले सरकारले बेलैमा सचेत भएर आकाशे पानीमा निर्भर रहनुपर्ने कृषि प्रणालीको परिवर्तन गर्ने योजना लागु गर्न अब ढिलाइ गर्नु हुँदैन । कृषि उत्पादकत्व वृद्धि गर्दै कृषि उद्योग सञ्चालन गर्ने वातावरण बनाएर देशमा आर्थिक समृद्धिको ढोका खोल्न सम्भव रहेको तथ्यलाई आत्मसात गर्न तयार हुनु नै देशको हितमा हुनेछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.