इन्जु ढकाल
काठमाडौँ, ६ साउन : साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, ब्रत, दर्शन एवं जल चढाउने परम्परा छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिने गर्छन्। भक्तजन भने बिहान ३:३० बजेदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका थिए।
साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा गर्ने चलन बढ्दै गएको छसाउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले शिवधामहरुमा बिहानैदेखि श्रद्धालुको ओइरो लागेको हो । विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको हुन्छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । बिहान सबेरैदेखि नदीमा स्नान गर्ने र मन्दिरमा पूजापाठ गर्नेको भीड लागेको छ । पानीमा सम्भावित दुर्घटना रोक्नका लागि बोटेको उद्धार टोली तैनाथ गरिएको, सुरक्षाको प्रबन्ध मिलाइएको, प्राथमिक स्वास्थ्य टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको कोषले बताएको छ ।
साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ। पहिलो र अन्तिम सोमबार यो सङ्ख्या बढी हुने गर्दछ । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महीनालाई वर्षकै सबैभन्दा चोखो महीनाका रूपमा लिने गरिएकाले यो महीनाभर श्रद्धालुले चोखो भएर विभिन्न पूजा आराधना गरेर विशेष रूपमा मनाउँछन् । देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन यहाँ आउने गर्दछन् । पहेँलो बस्त्र लगाएर खाली खुट्टामा समेत बोलबम भन्दै भक्तजन आएका छन् ।
No comments:
Post a Comment