मनसुनको सक्रियता घट्दो, अझै सतर्क रहनुपर्ने - pharaksandesh.com

मुख्य समाचार


Saturday, 13 July 2019

मनसुनको सक्रियता घट्दो, अझै सतर्क रहनुपर्ने

–नारायण ढुङ्गाना 
काठमाडौँ, २८ असार : मध्य र पूर्वी नेपालको तराई भूभाग तथा पश्चिमी नेपालको पहाडी भूभाग नजिकको मध्य र पूर्वको न्यून चापीय क्षेत्र कमजोर अवस्थामा रहेकाले वर्षा घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

उक्त प्रणालीका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुँदै जाने विभागका मौसमविद् मिनकुमार अर्यालले राससलाई जानकारी दिनुभयो । 

विभागले शुक्रबारको जस्तो अविरलरुपमा भने वर्ष नहुने जानकारी दिएको छ । केही दिन सतर्कता अपनाउन भने आग्रह गरेको छ । अहिले देशका धेरैजसो स्थानमा मनसुनी वर्षा भने जारी रहेको अर्यालले जानकारी दिनुभयो । पश्चिम र मध्यपश्चिमको तराई र थोरै पहाडी भूभागमा यो समाचार तयार पार्दा पानी परिरहेको विभागले जानकारी दिएको छ । 

मौसमविद् अर्यालले भन्नुभयो, “आइतबार र सोमबार केही रोकिएर वर्षा हुन्छ, ठूलो जनधनको क्षति हुने गरी हुँदैन तर जमीन गलिसकेकाले थोरै वर्षाले पनि जोखिम बढाउने हुँदा सतर्क भने रहनुपर्छ ।” उहाँले १०० मिलिमिटरभन्दा माथि वर्षा हुने सम्भावना भने कम रहेको बताउनुभयो ।

विभागले आज राति देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशको पूर्व र मध्य क्षेत्रका केही स्थानमा र पश्चिमी पहाडी तथा तराइका भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको पश्चिमी स्थानमा हावाहुरीको पनि सम्भावना छ । 

असार २९ गते आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने र मुलुकको पूर्व र मध्यक्षेत्रका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको विष्लेषण छ । 

सोही राति देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने देशको पूर्व र मध्यक्षेत्रका थोरै स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । सोमबार पनि अवस्था उस्तैउस्तै रहने जनाइएको छ । 

आगामी २४ घण्टा सक्रिय सतर्कता 
देशको पूर्व र मध्यक्षेत्रका केही स्थानमा र पश्चिमी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले पूर्व र मध्यक्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने विभागले जनाएको छ । मुलुको पूर्वी, मध्य र पश्चिमी तराई क्षेत्रका नदीमा जलको बहाव र स्तर हल्का बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत भनिएको छ ।

साथै देशभर विशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सूचना जारी गरी जानकारी दिएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका जनजीवन प्रभावित भएको छ । अहिले सरकारी संयन्त्र र सुरक्षा निकाय उद्धारमा सक्रिय रहेको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.