काठमाडौँ, २३ असार : विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई काटेको पत्र प्राप्त भएको छ ।
लैनचौरस्थित भारतीय दूतावासले भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण सम्बन्धमा मन्त्रालयलाई पत्र काटेको पाइएको हो ।
दूतावासले लेखेको सो पत्रमा ‘भारतको राष्ट्रिय वनस्पति संरक्षण संस्था तथा कृषि तथा प्रशोधित खाद्य पदार्थ निर्यात विकास प्राधिकरणले नेपालमा निर्यात हुने यस्ता सामग्रीलाई फाइटोस्यानिटरी प्रमाणपत्र प्रदान गर्ने गरेका छन् र यी प्रमाणपत्र नेपाली निकायहरूलाई पनि स्वीकार्य छन् ।’ भनिएको छ।
नेपालमा फलफूल र तरकारी बेच्न नपाएको भन्दै भारतीय व्यापारीहरुले दूतावाससम्म गुनासो पुर्याएपछि भारतिय दूतावासले नेपाल सरकारलाई पत्र काटेको हो ।
पत्रमा भनिएको छ, ‘पुनः परीक्षणको आवश्यकता गैरकर अवरोधजस्तै हो र यसले व्यापार रोकिएको छ । साथै, अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्दछ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना भएन।’
भारत र नेपालबीच दशकौंदेखि कायम रहेका द्विपक्षीय व्यापार व्यवस्था अनुरूप नेपाल सरकारका सम्बन्धित निकायलाई यस पत्रमार्फत नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी चेकजाँच नगर्न सम्वन्धित मन्त्रालयलाई आग्रह गरिएको उल्लेख छ ।
पत्रमा दूतावासले सामग्रीको व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि आवश्यक सूचना तथा कागजातसहित औचित्य पुष्टि गर्न मन्त्रालयलाई आग्रह समेत गरेको छ ।
यस्तो छ दूतावासको पत्र


No comments:
Post a Comment