साहित्यिक विकासमा आदिकविको भूमिका अतुलनीय - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 July 2019

साहित्यिक विकासमा आदिकविको भूमिका अतुलनीय

काठमाडौँ, २५ असार :  नेपाली भाषा, साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको भूमिका अतुलनीय रहेको एक कार्यक्रमका वक्ताले बताएका छन् । 

उनीहरुले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आचार्यले नेपाली समाजको लोकसंस्कृतिको विकासको थालनी गरेको बताए । २०६औँ भानु जयन्तीका अवसरमा ‘भानुभक्तीय रचनाको सामाजिक पक्ष र नेपाली लोकजीवनमा रामायण संस्कृति’ विषयको गोष्ठीका वक्ताले भानुभक्तले लोकभाषामा अनुवाद गरेकै कारण रामायणका बारेमा सबैले बुझ्ने अवसर पाएको धारणा राखे । भानुभक्तको रामायणले नेपाली समाजमा अध्यात्मिक दर्शनको चेतना फैलाउनमा सहयोग पु¥याएको वक्ताले औँल्याए । भानु प्रतिष्ठानको सहकार्यमा नेपाल–प्रज्ञा–प्रतिष्ठान संस्कृति तथा साहित्य (लोकवार्ता र बालबालिका) विभागले कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा डा तुल्सीप्रसाद भट्टराईले गोष्ठीपत्र प्रस्तुत गर्दै भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरेर नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नमा ठूलो योगदान पु¥याएको बताउनुभयो । उहाँले भानुभक्तले नेपाली भाषामा रामायणलाई अनुवाद गरेपछि थुप्रै भाषामा रामायणलाई अनुवाद गरिएको बताउनुभयो । “भानुभक्तले लेखेको रामायण पाण्डुलिपि अवस्थामै प्रचारमा आएको थियो”, उहाँले भन्नुभयो, “सरल भाषामा लेखिएकाले यसको लोकप्रियता बढ्न गएको हो ।” भानुभक्तका कृतिमा एक दर्जनभन्दा बढीले विद्यावारिधि गर्नु, चलचित्र बन्नु, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा उहाँका सालिक बन्नुजस्ता कार्यले उहाँको महत्व झन बढ्दै गएको छ”, उहाँले थप्नुभयो, “उहाँका विभिन्न पक्षहरुका बारेमा अझै पनि अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यक छ ।” 

अर्का कार्यपत्र प्रस्तुतकर्ता लोकवार्ता परिषद् नेपालका महासचिव डा भक्त राईले भानुभक्तले लेखेको नेपाली भाषाको लोकरामायण सर्वत्र सुभाषित भई फैलन सफल भएको भन्दै हरेक जाति, वर्ग र समुदायमा रामसीताका कथाहरु पुगेका बताउनुभयो । “हिन्दू, गैरहिन्दू सबै समुदायमा नृत्य, गायन, गाथा र कथाका रुपमा रामायण फैलन पुग्यो”, उहाँले भन्नुभयो, “सबै धर्मावलम्बीले जानेर वा नजानेर ‘राम नाम सत्य हो’ भन्न थाले ।” उहाँले लोकरामायणले नेपाली संस्कृतिमा दिगो र व्यापक प्रभाव जमाउन सफल भएको बताउनुभयो । दुवै कार्यपत्रमाथि सहभागीले टिप्पणी गरेका थिए । भारतीय राजदूतावासका प्रथम सचिव केदारनाथ शर्माले रामायण आर्य संस्कृतिको मणि भएको बताउँदै यसले सबैको भावना समेटेको जिकिर गर्नुभयो ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले भानुभक्तमा शत्गुणी र लोकको उपकार गर्ने विशेषता भएका कारण रामायणलाई नेपाली भाषामा अनुवाद गर्न सफल भएको बताउनुभयो । “रामायण र अन्य कृतिको माध्यमबाट संसारसामु आफू परिचित हुन सफल हुनुभयो”, गुरुङले भन्नुभयो, “निष्ठा र निःस्वार्थ भावका साथ कर्म गर्ने मानिस एक न एक दिन सफल भएरै छाड्छ ।” 

प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले रामायणले नेपाली समाजको चित्रण गर्दै भाषा साहित्यको जग बसाल्न सहयोग पु¥याएको बताउनुभयो । “नेपाली लोकरामायणले दर्शन र अध्यात्मलाई सरलीकृत गर्ने कार्य गरेको छ”, उहाँले भन्नुभयो, “मानिसलाई शत्कर्ममा लागी जीवन जिउने कला सिकाएको छ ।” भानु प्रतिष्ठानका अध्यक्ष प्राडा व्रतराज आचार्यले मुलुकमा प्रजातन्त्रको बहालीपछि गठन भएको प्रतिष्ठानले भाषासाहित्यको विकासमा निरन्तर काम गर्दै आइरहेको बताउनुभयो । उहाँले भानुभक्तको केन्द्रीयतामा नेपाली भाषा–साहित्यको विकासमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका लोकवार्ता विभाग प्रमुख देवी नेपाल, भानु प्रतिष्ठानका महासचिव डिपी अर्यालले मन्तव्य राख्दै भानुभक्तले नेपाली समाजको विकासमा पु¥याएको योगदानका बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताउनुभयो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.