१३ औँ साग तोकिएकै मितिमा : सदस्यसचिव सिलवाल - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

१३ औँ साग तोकिएकै मितिमा : सदस्यसचिव सिलवाल

कास्की, २९ असार  : राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमै आयोजना गरिने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साग र नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा सम्पन्न गर्न चुनौती रहे पनि त्यसको सामना गरेर सोही मितिमा गरिने स्पष्ट पार्नुभयो । 

यही वर्षको डिसेम्बर १ देखि ९ सम्म नेपालमा तय भएको साग खेलकूदलाई सम्पन्न गर्न भौतिक पूर्वाधार निर्माण र खेलाडीको तयारी चुनौतीको रूपमा रहेको बताउँदै उहाँले भन्नुभयो, “जे कामका निम्ति आएको हुँ, त्यो गर्न नसके म मेरो पदमा बस्नुको कुनै अर्थ हुँदैन, चुनौती र जिम्मेवारीलाई समन्वय गरेर अघि बढ्छु ।” सिलवालले नेपाल क्रिकेट सङ्घ (क्यान)कोे विवाद समाधान गर्नका लागि पाँच सदस्यीय कमिटी रहेको बताउँदै एक हप्ताभित्रमा समाधानको पहल गरिने स्पष्ट पार्नुभयो । 

उहाँले पोखरा रङ्गशालाभित्र निर्माण भइरहेको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको मैदान प्राकृतिक घाँसे नै बन्नुपर्ने बताउँदै प्राकृतिक शहरमा कृत्रिम मैदान हुन नहुनेमा जोड दिनुभयो । रङ्गशाला निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सिलवालले गुणस्तरीय हिसाबले साग खेलकूद अघि निर्माण सम्पन्न गरिनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनका साथ सदस्यसचिव सिलवालले निर्माणाधीन फुटबल रङ्गशालाको निरीक्षण गर्दै राष्ट्रिय गौरवको आयोजना भएकाले आगामी कात्तिक १५ गतेभित्रमा रङ्गशाला निर्माणको काम सक्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.