विकासका लागि सहकार्यमा मुख्यमन्त्री पौडेलको जोड - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

विकासका लागि सहकार्यमा मुख्यमन्त्री पौडेलको जोड

चितवन, १ साउन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ । 

सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । समाज परिवर्तन गराउनका लागि सरसफाइ तथा हरियाली प्रवद्र्धन पनि एउटा बाटो भएको उहाँको भनाइ थियो । 

फरक प्रसङ्गमा मुख्यमन्त्री पौडेलले काँग्रेसलाई पनि विकासमा साझेदारी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विकास सबैका लागि हो । विचार फरक हुन सक्छ तर विकास फरक हुँदैन ।” विकासप्रतिको अवधारणा स्पष्ट नहुँदा विकास निर्माणले तीव्रता पाउन नसकेको उहाँको भनाइ छ । 

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले चितवनको क्षेत्र नं २ को (ख)मा मात्रै गत आर्थिक वर्षमा ६५ हजार फलफूलका बिरुवा रोपिएको जानकारी दिनुभयो । हरियाली कार्यक्रमलाई प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको पनि उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, वडाध्यक्ष राजेन्द्रमणि काफ्ले लगायतले बोल्नुभएको थियो । कार्यक्रमको शुभारम्भ अघि मुख्यमन्त्री पौडेलले वृक्षरोपण, शहरी बायोग्यास प्लाण्ट उद्घाटन, पानी शुद्धीकरण, फोहर व्यवस्थापन लगायतको उद्घाटन गर्नुभएको थियो । 

यस कार्यक्रमअन्तर्गत भरतपुर एक बगैँचा, सफा भरतपुर र हरियाली भरतपुर नाम दिएर फोहर व्यवस्थापन, सरसफाइ, वृक्षरोपण, पानीको शुद्धीकरण, शहरी बायोग्यास प्लाण्ट जस्ता कार्यक्रमहरु सञ्चालन गरिने सरसफाइ तथा हरियाली कार्यक्रम सञ्चालन समितिका अध्यक्ष केशव रेग्मीले जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.