महोत्तरीमा २४ सडक बाढीले क्षति - pharaksandesh.com

मुख्य समाचार


Thursday, 18 July 2019

महोत्तरीमा २४ सडक बाढीले क्षति

बर्दिवास, २ साउन : एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । तराई–मधेशको ‘लाइफलाइन’ भनिएको हुलाकी सडक, बर्दिवास–जलेश्वर सडक, जलेश्वर–जनकपुर सडक, जलेश्वर–सम्सी सडक, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मटिहानी सडक, जलेश्वर–रौजा सडकलगायत जिल्लाको प्रमुख सडकसहित २४ सडक बाढीले अवरुद्ध भएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । 

जिल्लाका मुख्य सडक बाढीले अवरुद्ध भएपछि जिल्लाको सुदूरदक्षिणी क्षेत्रमा रहेको जिल्ला सदरमुकाम जलेश्वरसँग बाँकी जिल्लाका अन्य भेगको सम्बन्धविच्छेदजस्तै बनेको छ । क्षतिग्रस्त सडकमा मर्मतसम्भारको काम द्रूतगतिमा बढाइएको प्रजिअ ढकालको भनाइ छ । यी क्षतिग्रस्त सडक र पूर्वपश्चिम राजमार्गको महोत्तरीकै बर्दिवासस्थित भब्सीपुलमा बेलिब्रिज पाँच दिनभित्रै प्रयोगमा आइसक्ने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

भब्सी नदीमा आएको ठूलो बाढीले गत शुक्रबार राति पुल बगाएपछि यहाँ सडक यातायात अवरुद्ध भएपछि बेलिब्रिज जडानको काम थालिएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.