![]() |
| शशी श्रेष्ठ |
मेलम्ची
हेर त प्रिय,
त्यो देखिएको नेपाल खानेपानी संस्थानको ट्याङ्की,
प्रत्येक बिहान म त्यो ट्याङ्की अगाडि उभिएर योगा गर्छु।
प्रिय मेलम्ची,
तिमीलाई सम्झँदै-सम्झँदै आफ्नै पसिनाले नुहाउँछु।
ओ डियर!
मैले तिमीलाई माया मारेको छैन,
पल पलमा म तिम्रै नाम जपिरहन्छु;
मैले सक्ने भए तिमीलाई एक्लै बोकेर ल्याउने थिएँ।
ट्याङ्करको फोहोर पानी खाएर बिरामी छु म।
मेलम्ची,
के मेरो यस्तो अवस्था देख्दा तिमीलाई दु:ख लाग्दैन ?
केही त बोल प्रिय...
के म जीवनभर तिम्रो नाम पुकारी रहुँ ?
यत्तिका मान्छे अटाएका ठाउँमा मेरै मेलम्ची मात्र छैन ,
अखबारका पानामा तिम्रो नाम हेर्न सक्दिन अब म।
मलाई त ,
गाग्री उचालेकी ति बुढी आमाको ओठमा तिमीलाई हेर्ने मन छ,
खर्पन बोकेर पानी बाँड्दै हिँडेका ति बाजेको प्रसन्न आँखामा तिमीलाई हेर्ने मन छ,
प्रत्येक गृहिणका भान्सा कोठामा तिमीलाई हेर्ने मन छ।
त्यसैले प्रिय,
यि फोहोरी नेताको सोचाइ पखाल्न तिमी आऊ,
काठमाडौंबासिको धुलो-मैलो हटाउन तिमी आऊ,
आऊ मेलम्ची.. अब ढिला नगर,
तिमी आऊ ।।

No comments:
Post a Comment