बेपत्ताको ९१ वर्षपछि काजकीरिया ! - pharaksandesh.com

मुख्य समाचार


Saturday, 20 July 2019

बेपत्ताको ९१ वर्षपछि काजकीरिया !

काभ्रेपलाञ्चोक, ४ साउन : बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दू संस्कारअनुसार काजकीरिया थालेका छन् । 

जन्मले १०० वर्ष पुग्नुभएका नन्दीकेशर अधिकारी (बैकुण्ठ)को हिन्दू संस्कारअनुसार काजकीरिया थालिएको हो । गत मङ्गलबार कुशको ‘शव’ बनाएर अधिकारीको अन्तिम संस्कार गरिएको छ । सोही दिनदेखि नन्दीकेशरको भाइका एक नाति कुमार अधिकारी कोरा बारेर १३ दिनकै कीरिया बस्नुभएको छ । 

मान्छेको मृत्यु भएपछि हिन्दू परम्पराअनुसार १३ दिनसम्म कोरा बस्ने, अलिनो खाने, शुभकार्य नगर्ने, बन्धु र आफन्तले सीदा ल्याउने, शोक प्रकट गर्नेलगायतको एउटै प्रक्रिया हुने नन्दीकेशरका अर्का नाति राजनप्रसाद अधिकारीले जानकारी दिनुभयो । हिन्दू संस्कारमा ‘नारायणवली’ भनिने यो प्रक्रियामा बेपत्ता भएको मानिस १०० वर्ष हँुदासम्म पनि फेला नपरे मृत्यु भएको मानेर अन्तिम संस्कार गर्ने चलन रहँदै आएको छ ।

राजनका अनुसार विसं १९६५ मा जन्मिनुभएका नन्दीकेशर १९८५ मा परदेश जानुभएको थियो । “हजुरबुबा विदेशिएदेखि नै बेपत्ता हुनुभएपछि हिन्दू संस्कारअनुसार अहिले काजकीरिया गर्दैछौँ”, राजनले भन्नुभयो । सात वर्षको उमेरमा विवाह गर्नुभएका नन्दीकेशरको श्रीमती बेदमायाको पनि विसं २०४२ मा मृत्यु भइसकेको छ । उहाँहरुबाट कुनै जायजन्म भएको थिएन ।

मुलुकी देवानी संहिता २०७४ को भाग–२ व्यक्तिसम्बन्धी कानूनको परिच्छेद–१ को प्राकृतिक व्यक्तिसम्बन्धी व्यवस्थामा कुनै व्यक्ति बिनासूचना लगातार १२ वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले १२ वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने उल्लेख छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.