जलेका घर त बने तर, खाने मेलो बनेन - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

जलेका घर त बने तर, खाने मेलो बनेन

– तारानाथ आचार्य 
बलेवा, ७ साउन : बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँका मानबहादुर बिक परिवारलाई खुशी राख्ने सपना बोकेर खाडी मुलुक कतार हानिएको २२ महिना मात्रै भएको थियो । कतारको एक प्रतिष्ठित कम्पनीमा काम गरिरहेका बिक महिना मर्दा धेरथोर कमाउँथे र घर पठाउँथे । त्यसैमा उनी खुशी नै थिए । गत वर्ष मङ्सिर ९ गते एकाबिहानै उनले दुःखद समाचार सुने । विभिन्न सञ्चार माध्यममा आएको त्यस समाचारले उनको मन दुःखको भारीले मात्रै थिचिएन, जेनतेन चलेको रोजगारी छोडेर बिक नेपाल हानिए । 

मङ्सिर ९ गते बिहान ३ बजे नवी गाउँमा भएको आगलागीमा बिकको घर जल्यो । परदेशमा काम गरिरहेका बेला आफ्नै घर जलेको सुनेका बिकले बेसुरमा परिवारलाई फोन गर्ने प्रयास गरेको सुनाए । सम्पर्क नभएर उनी झन् आत्तिएका थिए । कतारको रोजगारी त्यागेर नेपाल फर्किने निधो गरिसकेपछि मात्रै उनले परिवारबाट खबर पाए । सिङ्गो गाउँका ४८ घर जल्दा बिकको घर पनि खरानीमा परिणत भएको थियो । चिसो समय भएकाले घुम्ती बसाइ सरेर बस्ने नवी गाउँका सबै बासिन्दा ढोरपाटन नगरपालिका–८ बोबाङ झरिसकेका थिए ।

“बेंसी झरेकी बूढीको फोन लागेन, घर जलेको खबरले कतार बस्नै मन लागेन,” बिकले भने “उसको फोन लाग्ने बेलासम्म मैले घर फर्किने निधो गरिसकेको थिएँ ।” चिसो छल्न बोबाङ झरेका कारण त्यहाँ मानवीय क्षति भने हुन पाएन । जलेको घर फेरि बनाउने र परिवारलाई खुशी राख्ने सपना बोकेर नेपाल फर्केका बिकको अहिले नवी गाउँमा नयाँ घर बनेको छ । सुन्दर घर बनाउने सपना बोकेर अरबको तातोमा काम गर्दागर्दै भएकै घर जलेपछि पुनःनिर्माणको लागि आफू घर फर्किएको बिक बताउँछन् ।

नगरपालिकाले प्रतिपरिवार एक लाख रुपैयाँका दरले पुनःनिर्माणका लागि रकम उपलब्ध गराएपछि नवी गाउँमा ३९ घर बनेका छन् । आगलागीका कारण मासिएका घर बनाउन नवी गाउँवासीले नगरले दिएको अनुदान र ऋणधन गरेर घर ठड्याएका छन् । जसोतसो बनाएको घरमा बास बसेको भए पनि बिहान बेलुका खाने गाँसको समस्याले भने नवी गाउँवासीलाई पिरोल्ने गरेको छ ।

“खाने मेसो त खोसियो तर, घर बनेको छ,” बिकले भने – “घर बनाउन नगरपालिकाले पैसो दियो, खाने अन्न भने छैन ।” ढुङ्गामाटोले बनेको घरमा जस्ताको छानो हालिएको छ । “घर जल्दा घरभित्र भएका अन्नपात र भाँडावर्तन सबै जलेका छन्,” नवी गाउँका देवीलाल बिकले भने – “घर त बनाइयो अब गुजारा कसरी गर्नु ?” 

चिसो छल्नकै लागि बोबाङ झरेका बेला नवी गाउँमा भण्डारण गरिराखिएका आलुको बीउ समेत मासिएकाले उनीहरु मर्कामा परेका हुन् । नवी गाउँका सबैको बारीमा आलु मात्रै फल्छ । वर्षात्मा फलेको आलुलाई हिउँदको समयमा बेसी झरेर अन्नपातसँग साटी त्यहाँका स्थानीय बासिन्दाले गुजारा चलाउने गरेका छन् । “चिसो सकिएपछि लगाउने भनेर राखेको आलुको बीउ खरानी भयो,” स्थानीयवासी दिलमाया बिकले भनिन् – “बीउ किनेर आलु लगाउँदा ऋण लागेको छ । घर छ तर, भकारी खाली छ ।”

नवी गाउँ अहिले नीलो जस्तापाताको छानाले भरिएको छ । मङ्सिरमा आगलागीका कारण क्षति भएका ४८ घर निर्माणका लागि ढोरपाटन नगरपालिकाले एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेर काम थालेको थियो । नगरपालिकाले भनेको जस्तो एकीकृत बस्ती निर्माण नभए पनि नवी गाउँमा ३९ नयाँ घर बनेका छन् । “घडेरीका कारण एकीकृत बस्ती बनाउन सकिएन,” ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने – “चैतदेखि पुनःनिर्माण थालिएको नवी गाउँ पहिलेकै जस्तो भएको छ ।” 

नयाँ घर बनाउन नगरपालिकाले प्रत्येक परिवारलाई एक लाख रुपैयाँ अनुदान दिएको थियो । अडचालीस घरपरिवारमध्ये एकै व्यक्तिका दुईवटा घर पनि भएकालाई कुनै एक घरका लागि मात्रै अनुदान रकम उपलव्ध गराएको नगरपालिकाले जनाएको छ । बन्नु पर्ने ४१ घरले पेश्कीबापत पहिलो किस्ताको रकम लगेका थिए । अहिले पनि दुई घर निर्माणको चरणमा छन् । कुल १९ मिटर लम्बाइ र १३ मिटर चौडाइ भएको दुई कोठे घर निर्माण गर्ने गरी नगरपालिकाले सहयोग गरेको हो ।

सबै घरको छानाका लागि ढोरपाटन नगरका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा जस्तापाता उपलब्ध गराएका हुन् । आगलागीका कारण मासिएको सिङ्गो गाउँ पुनःनिर्माणसँगै जुरुक्कै उठेको भए पनि घरभित्रका समस्यामा कसैले चासो नदेखाएको स्थानीय युवा धनबहादुर बिक बताउँछन् । “हामीसँग रोजगारी छैन, खेतीपातीको नाममा आलु मात्रै हो,” बिकले भने – “बीउ नै मासिएको भए के लगाएर खान्छौं भनेर कसैले सोधेन ।” गाउँ नै मासिने गरी आगलागी कसरी भयो भन्ने अहिलेसम्म पत्तो लागेको छैन । छरिएर रहेका घरहरुमा समेत जोडिएर रहेका घरमा जस्तै आगो लागेकाले नियतवश कसैले आगो लगाइदिएको हुनसक्ने आशङ्का गरिएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.