सुकुम्वासी समस्या समाधान खोज्न ध्यानाकर्षण - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

सुकुम्वासी समस्या समाधान खोज्न ध्यानाकर्षण

धनगढी, ७  साउन : सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले कैलालीको हरैया क्षेत्रका सुकुम्वासीको न्यायोचित ढङ्गले समस्या समाधान खोज्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सोमबारको बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्य पूर्णा जोशीले कसैको व्यक्तिगत सम्पत्तिको सुरक्षा हुनुपर्नेमा विमति हुन नसक्ने भए पनि बर्सातको मौसममा विभिन्न समूह परिचालन गरी गुण्डागर्दी शैलीमा सुकुम्वासीलाई लखेट्ने कार्य मानवीय संवेदना बिपरीत भएको बताउनुभयो । उहाँले धनगढीमा विद्युत् आपूर्ति नियमित गराउन पहल गरिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीले कुनै पनि व्यक्तिको निजी सम्पत्ति कसैले कब्जा गर्न नहुने भन्दै हरैया क्षेत्रका सुकुम्वासीलाई हटाउँदा मानवीयताको ख्याल गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भूमि ऐन आठौँ संशोधनसम्बन्धी विधेयकमा सङ्घीय सरकारले २५ प्रतिशत राजश्व लिएर ऐलानी जग्गालाई भोगचलन गरिरहेको सम्बन्धित व्यक्तिका नाममा बढीमा पाँच कट्ठासम्म जग्गा दर्ता गर्ने ऐनमा व्यवस्था गर्न लागिएको भन्दै यो न्यायोचित नभएको बताउनुभयो । यस्तो कानूनी व्यवस्थाले वर्षौंदेखि बस्दै आएका अव्यवस्थित बसोबासीको बिचल्ली हुने उहाँको भनाइ थियो । बढीमा पाँच प्रतिशत राजश्व लिएर ३० कट्ठा जग्गासम्म सम्बन्धितका नाममा दर्ता गर्ने व्यवस्था गर्नका लागि पहल गर्न सोडारीले ध्यानाकर्षण गराउनुभयो । 

प्रदेशसभा सदस्यहरुले धनगढीमा हालै भएको बम विष्फोटनको घटनाले सुरक्षा व्यवस्था कमजोर देखिएको भन्दै भरपर्दो शान्तिसुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । आजको बैठकमा प्रदेशसभा, विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई तयार पारिएको ‘प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन समितिका सभापति नेपालु चौधरीले प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक साउन ७ गते अपराह्न ३ बजे बस्नेछ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.