त्रिवि ६० वर्ष पुरा, विद्यार्थीहरुको ५७ औं ग्रेस लिस्ट पारित - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 July 2019

त्रिवि ६० वर्ष पुरा, विद्यार्थीहरुको ५७ औं ग्रेस लिस्ट पारित

काठमाडौँ, २५ असार : त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसरमा आयोजित वार्षिक दिवस बैठकले त्रिविको ५७ औं ग्रेस लिस्ट पारित गरेको छ । त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको अध्यक्षतामा बसेको बैठकले उक्त ग्रेस लिस्ट पारित गरेको हो ।

यस वर्ष त्रिविका पाँच वटा अध्ययन संस्थानहरुबाट ११ हजार ९ सय १२ जना र चार वटा संकायहरुबाट ५८ हजार १ सय ६५ जना गरी कुल ७० हजार सतहत्तर जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । जसमा व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८ जना, शिक्षाशास्त्र संकायबाट २० हजार ६ जना, मानविकी तथा सामाजिक शास्त्र संकायबाट १३ हजार ६ सय ९५ जना र कानुन संकायबाट १ हजार ६ सय ६६ जना उत्तीर्ण भएका छन् । त्यस्तैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ४ सय ५२ जना, इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट २ हजार ९ सय ७२ जना, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ७ सय १९ जना, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट ५ सय ५ जना र वन विज्ञान अध्ययन संस्थानबाट २ सय ६४ जना उत्तीर्ण भएका हुन् । यो संख्या गत वर्ष २०७५ आषाढ १ गतेदेखि २०७६ जेठ मसान्तसम्म विभिन्न तहमा उत्तीर्ण भई ट्रान्सक्रिप्ट पाएका विद्यार्थीहरुको हो । गत वर्ष ५६ औं ग्रेसलिस्टमा ७३ हजार ९ सय १ जना विद्यार्थीहरु उत्तीर्ण भएका थिए ।

वार्षिक दिवस बैठकलाई सम्बोधन गर्नुहुँदै त्रिविका कुलपति एवं प्रधानमन्त्री श्री केपीशर्मा ओलीले विश्वविद्यालयहरुले देशको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले विश्वविद्यालयबाट प्राविधिक शिक्षातर्फ जनशक्ति वृद्धि गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सरकारले देशलाई कुन कुन क्षेत्रमा कति संख्यामा के कस्तो प्राविधिक जनशक्ति चाहिन्छ भनेर तथ्याँक संकलनको लागि काम गरिरहेको बताउनुहुँदै आवश्यक जनशक्ति विश्वविद्यालयहरुबाटै उत्पादन गरिनुपर्ने बताउनु भयो । विश्वविद्यालय जस्ता शैक्षिक संस्थाहरुलाई पवित्र मन्दिरको रुपमा विकास गर्नका लागि बेथिति र अनियमितताको अन्त्य हुनुपर्ने धारणा समेत उहाँले व्यक्त गर्नुभयो । देश अगाडि बढिसकेकोले अब पछाडि फर्कन नसक्ने उल्लेख गर्नुहुँदै उहाँले नेतृत्व जाने आउने भइरहने बताउनुहुँदै उहाँले सफल नेतृत्वले सुन्दर संस्कार छोडेर जान सक्नु पर्ने र अहिले हाम्रो विश्वविद्यालय धेरै पछाडि परिरहेको बताउनु भयो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै त्रिविका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले विश्वविद्यालयको व्यवस्थापनलाई दीगो प्रणालीमा ढाल्न समस्या रहेको बताउनु भयो । विश्वविद्यालयले कमी कमजोरीहरुलाई सुधार गर्दै अगाढि बढ्न सक्नुपर्ने बताउनुहुँदै उहाँले हिँजोकै ढँगले पुरानो पाराले अब अगाढि जान नसकिने बताउनु भयो । विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ नयाँ कुराहरु आइरहेको बताउनुहुँदै उहाँले नयाँ ढँगले अगाढि बढ्न नयाँ नेतृत्वले गम्भीर भएर सोच्नु पर्ने बताउनु भयो । देशको शिक्षा नीति र विज्ञान तथा प्रविधि नीति मन्त्री परिषद्मा पुगिसकेकोले त्यो नीति पारित भएपछि विश्वविद्यालयहरुमा पनि नयाँ तरिकाले शिक्षा दिने र अहिलेको नतिजालाई उल्ट्याउन सक्ने गरी प्राविधिक शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा स्वागत मन्तव्य राख्नुहुँदै त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले ६० वर्षे इतिहासमा त्रिविले मुलुकको सर्वाङ्गिण विकासमा अहम् भुमिका निर्वाह गरेको बताउनु भयो । उहाँले त्रिविको भिजन २०२०–२०३० को खाका कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्दै गत वर्ष त्रिवि विश्वभरका विश्वविद्यालयहरुको उत्कृष्टताको सूचीमा हजारभन्दा तल पर्न सफल भएको र एसियामा तीन सयभन्दा तल उत्कृष्टतामा पर्न सकेकोले महत्वपूर्ण सफलता हाषिल भएको जानकारी दिनुभयो ।

मुलुकभर स्नातकोत्तर तहमा सेमेस्टर लागु गरिएको, त्रिविका आँगिक क्याम्पसहरु र केन्द्रीय विभागहरुलाई गुणस्तर मापनको कार्य शुरुवात भएको, नयाँ शैक्षिक कार्यक्रमहरु थप गरिएको, त्रिवि शिक्षण अस्पतालमा दन्त शिक्षण अस्पतालको शुरुवात गरिएको, शैक्षिक स्वायत्तता र प्राज्ञिक स्वायत्तताका कार्यक्रम सञ्चालन प्रारम्भ गरिएको, खुल्ला तथा दुर शिक्षाका कार्यक्रम सञ्चालनमा ल्याइएको, कृषि क्याम्पस, झापा र रामपुर इन्जिनियरिङ् क्याम्पस स्थापना गर्ने निर्णय भई प्रक्रिया अगाडि बढेको, १६५ भन्दाबढी विश्वविद्यालयहरुसंग प्राज्ञिक, शैक्षिक, भौतिक र मानव संशाधनका सहयोगहरु आदानप्रदान गर्ने गरी एमओयु भइसकेको, क्रेडिट ट्रान्सफरको व्यवस्था गरिएको, प्रोफेसर इमेरिटस र एड्जङ्ट प्राध्यापकको व्यवस्था प्रारम्भ गरिएको, प्राज्ञहरुलाई त्रिविमा ल्याउने कार्यको लागि रिसर्च फण्ड नै स्थापना गरिएको, परीक्षा नियन्त्रण कार्यालयमा नयाँ सफ्टवेयरको प्रयोग गरी नतिजा छिटो गर्ने व्यवस्था मिलाइएको, अनलाइन फारम भर्ने व्यवस्थाहरुलाई विस्तार गर्दै गएको, त्रिविको सम्पत्ति लेखाजोखाको लागि एक चरणको कार्य पुरा भएको, त्रिविको इतिहास लेखन कार्यको शुरुवात भएको, २०१७ सालदेखि २०७३ सालको ४३ औं दीक्षान्त समारोहसम्मको दीक्षान्त भाषणहरुको संग्रह प्रकाशनमा ल्याइएको, भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको, स्ववियु निर्वाचनमा उमेर हद कायम गरिएको, त्रिविको अन्तर्राष्ट्रियकरणको लागि अन्तर्राष्ट्रिय सम्मेलन गरिएको, आविष्कार केन्द्र र इन्टिच्युट अफ इनोभेशन एण्ड इन्टरप्रिनियरसिप स्थापना गरेको जस्ता उपलब्धी हाषिल गरिएको उपकुलपतिले बैठकमा जानकारी दिनुभयो ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले कृतज्ञता मन्तव्य राख्नुहुँदै नेपालमा उत्पादित दक्ष जनशक्ति अधिकाँश त्रिविका उत्पादन रहेको र अधिकाँश विश्वविद्यालयहरु पनि त्रिविकै सन्तान भएको बताउनुहुँदै केहि विश्वविद्यालयहरुसंग अँश मुद्धा गर्नुपर्ने अवस्था आएको र यसले परिवारमा राम्रो प्रभाव नपार्ने बताउनु भयो । उहाँले विश्वविद्यालयमाथि अतिक्रमण भइरहँदा पनि घरसल्लाह नहुने गरेको बताउँनु हुँदै घरसल्लाह गर्ने परम्पराको थाली गर्न आग्रह गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले सभा समक्षा ५७ औं ग्रेस लिष्ट वाचन गर्नुभएको थियो ।
वार्षिक दिवसको अवसरमा प्रमुख अतिथि एवं प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट त्रिभुवन विश्वविद्यालयको स्थापना कालदेखि २०३९ सालसम्मको इतिहास लेखन पुस्तकको विमोचन गर्नुभयो । यस्तै त्रिविको भिजन २०२०–३०, त्रिवि विशेषाँक र त्रिवि टुडे प्रकाशनहरु विमोचन गर्नुभएको थियो । साथै कुलपतिज्यूबाट त्रिविको झण्डोत्तोलन, राष्ट्रिय झण्डोत्तोलन र त्रिवि उपकुलपति कार्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो भने उपकुलपति कार्यालय परिसरमा स्थापित सरस्वतीको मन्दिर समेत आजै उद्घाटन गरिएको छ ।

यसैगरी आजै एक कार्यक्रमका बीच त्रिवि सेवामा २५ वर्ष भन्दा बढी सेवा गरेका १ सय ९६ शिक्षक कर्मचारीहरुलाई दीर्घसेवा पदक र सम्मान पत्रबाट सम्मान गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.