व्यासीको कथा : सुन्दरताभित्र गुम्सिएको पीडा - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 May 2020

व्यासीको कथा : सुन्दरताभित्र गुम्सिएको पीडा

– नरेन्द्रसिंह कार्की 
दार्चुला, १२ जेठ : सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेख्नुभयो, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवन : सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा) ।” 

चारैतिर डाँडाकाँडा र हिमालले घेरिएको गाउँ । उत्तरतिर भएर बग्ने काली र दक्षिण भएर बग्ने तिङ्कर खोलाको सुसाइ । हिमाली क्षेत्रको चिसो हावा र बिहान घामको झुल्कोसँगै यहाँको प्राकृतिक सौन्दर्य । शान्त वातावरण । सुनसान जङ्गलभित्रको घनाबस्ती । गाउँ वरिपरि फूलझैँ फक्रिएका सल्लाका रुखहरु । यो ठाउँमा बस्नेलाई लाग्छ, ‘हामी स्वर्गको नजिकै छौँ ।’ 

आकाश खुलेपछि अरु गाउँ देख्न सकिँदैन, त्यही अपिनाम्पा हिमालका चुचुरा । कैलाश मानसरोवरको दर्शन । कैलाश गुफा र अपिनाम्पा संरक्षण क्षेत्रभित्र रहेको प्राकृतिक सुन्दरताले यहाँ पुग्ने जो कोहीलाई स्वर्गको अनुभूति हुन्छ । 

सदरमुकाम खलङ्गाबाट ९० किलोमिटर टाढाको बस्ती । बिहान घामको राप र बेलुकी बत्तीको उज्यालोले झिलीमिली । गाउँभरि ठड्याइएका बिजुलीका पोलहरु । बाटोहरु चिटिक्क परेका चिल्ला । वर्ष दिनलाई पुग्ने गरी दाउराको जोहो । पहाडका खोँचमा निर्माण गरिएका अग्ला घरहरु माटोले चिटिक्क परेका र टल्किएका । 

खेती गर्न हाते ट्र्याक्टर । सङ्घसंस्थाका बोर्डहरु । सीमापारि भारतीय क्षेत्र र उत्तरपट्टि चीनको ताक्लाकोट शहर नजिकै । पाँच छ घण्टाको सीमासम्मको हिँडाइपछि चीनसम्मको सहज यात्रा । घोडा खच्चड, याक र चौँरीहरु । 

यसरी हेर्दा लाग्छ यो बस्ती विकट छैन । दुर्गमताको आभास छैन । लहरै फलेका स्याउ, हरियो तरकारी, उवा, फापर, आलू फल्ने ठाउँ छ । फूलैफूलको संसारमा बसेको अनुभूति जो कोहीलाई पनि हुन्छ । तर जति सुन्दर देखिन्छ यो क्षेत्र, त्यहाँ बसोबास गर्नेको पीडा त्योभन्दा कम छैन ।

१० दिनदेखि सौका कुञ्चा बाटोमै
व्यास गाउँपालिका–१ छाङ्रुका अञ्जु बोहरा सदरमुकाम खलङ्गाबाट गाउँ जान हिँडेको १० दिन भयो । नेपालकै बाटो भएर गाउँ जाने सोचसहित पशुचौपाया लिएर जानुभएको थियो । सामान्यतया नेपालकै बाटो भएर बढीमा पाँच दिनमा गाउँ पुगिन्छ । एक सातासम्मको तयारी गरी रासन बोकेर गएका बोहरा १० दिनसम्म गाउँ पुग्नु त कता आधा बाटो नि पुग्न सक्नुभएन । नेपालतिरै बाटो बन्ला भन्ने आशामा गएका छाङ्रुका कुञ्चा १० दिनसम्म पनि तम्बाकु क्षेत्रमै अड्किएका छन् । गाउँपालिकाले यो क्षेत्रमा घोरेटोबाटो मर्मतको काम गरिरहेको थियो तर तम्बाकु मौरा भेल क्षेत्रका कडा चट्टानमा बाटो बनाउन नसक्दा व्यासी कुञ्चाले माथि उक्लिन नसकेका हुन् । 

भारतीय बाटो भएर यही जेठ ८ गते हिँडेको कुञ्चा गव्र्याङ पुगेको छ । नेपालतिर बाटो खुल्ने अवस्था नभएपछि रङ समुदायले भारतीय सरकारसँग पहल गरेर महाकाली नदीमा अस्थायी काठेपुल लगाएर नेपाल भएर गएका कुञ्चा पनि भारत हुँदै गाउँ जाँदैछन् । दुवैतर्फको आपसी सम्बन्धको हिसाबमा भारतीय क्षेत्रमा रहने सौका समुदायले जिम्मेवारी लिने गरी छाङ्रुका कुञ्चालाई भारतीय बाटोमा प्रवेश दिइएको व्यास–१ का स्थानीय विमल बोहराले बताउनुभयो । 

भारतबाट स्वास्थ्यकर्मीसहितको टोली पठाएर उनीहरुको स्वास्थ्य परीक्षण गर्दै भारत प्रवेश गराइएको छ । तम्बाकुमा महाकाली नदीमाथि अस्थायी काठेपुल लगाइएको छ । छाङ्रुका कुञ्चा तम्बाकुभन्दा माथि जान नसक्ने अवस्था आएपछि भारतीय क्षेत्रमा रहेका सौका समुदायमार्फत पहल गरिएको बोहरा बताउनुहुन्छ । 

भारतको धार्चुला हुँदै गएका तिङ्कर समुदायका पशुचौपाया आइतबार बेलुकी बुदी पुगेका छन् । विगतमा वडाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले दिएको अनुमति भारतीय एसडिएम कार्यालयमार्फत स्वीकृत भएपछि मात्रै व्यास जान पाइन्थ्यो तर यो पटक बन्दाबन्दीका कारण अनुमतिबिनै उनीहरु गाउँ गएका हुन् । 

भारतीय विधायक हरिशसिंह धामी तथा भारतीय रङ समुदायले सहजीकरण गरेपछि उनीहरु गाउँ जान पाउने भएका हुन् । भारतको छायालेकभन्दा माथिल्लो क्षेत्र ‘नोटिफाइ’ क्षेत्र हो । यो क्षेत्रमा प्रवेशका लागि भारतीय पक्षले सहजीकरण गरिदिएको बोहरा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब दुई दिनपछि सबै कुञ्चा व्यास पुग्छन् । उनीहरु नेपाल भारत जोड्ने सीतापूल हुँदै गाउँ प्रवेश गर्नेछन् ।” 

व्यासी सौका समाजका अध्यक्ष यशोदा तिङ्करी व्यासीहरुले यो पटक जस्तो गाउँ पुग्न दुःख कहिल्यै भोग्नु नपरेको बताउनुुहुन्छ । “हाम्रा जनताले गाउँ पुग्न पाएका छैनन्,” उहाँले भन्नुभयो, “जनता बीच बाटोमै अलपत्र छन्, सरकारले नेपालतिर बाटो खोल्छ भन्छन् तर कहिले खोल्ने हुन् ?” नेपालले आफ्नो भूमि भएर गाउँ जान बाटो नबनाउँदा केही नागरिक भारतीय बाटो भएर गए । एकसाताका लागि बन्दोबस्ती रासन लिएर गएका कुञ्चाले खान पाएका छैनन् । दुम्लिङ आएर रासन खान बाध्य छन् । 

“सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्नु ठिक हो”, उहाँले भन्नुभयो, “तर आफ्ना जनता गाउँ पुगेका छन कि छैनन् भनेर र हेर्नुपर्छ कि पर्दैन ? पुर्खादेखि जनताले भूमि रक्षा गरेका छन् । अहिले केही भारतबाट व्यास गएका छन् केही नेपालबाट गएकाहरु बीच बाटोमै समस्यामा छन् ।”

उहाँका अनुसार अहिले सम्बन्धका हिसाबले सात आठ महिनापछि गाउँ जान पाउँदैछन् । “खेतपाती लगाउने समय सकियो । यार्सा सङ्कलनमा रोक लगाइएको छ । सीमा नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प छ । यस्तो अवस्थामा व्यासवासीले गाउँमा कसरी बस्ने ? के खाने ? सरकारले तत्काल खाद्यान्न आपूर्ति व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कसरी बन्यो बाटो, के खान्छन् व्यासी ?
हेर्दा स्वर्ग झैँ लाग्ने व्यास–१ छाङ्रु र तिङ्करका नागरिकहरुको जीवन कसरी चलेको छ ? धेरैले यसतर्फ सोधिखोजी गरेका छैनन् । आफ्नो भूमि भएर जाने बाटो बन्द भएको डेढ दशक भयो । 

व्यासका स्व बहादुरसिंह ऐतवाल नगेन्द्रप्रसाद रिजाल मन्त्रिमण्डलमा सहायक राज्यमन्त्री हुनुहुन्थ्यो । दार्चुलाको व्यासी सौका समुदायबाट मन्त्री हुने पहिलो व्यक्ति ऐतवालले दार्चुलादेखि व्यासको तिङ्करसम्म घोरेटो बाटो निर्माणको शुरुआत गर्नुभएको थियो । त्यो बेला पञ्चायती व्यवस्था हुँदा शुरु भएको घोरेटो बाटो सशस्त्र द्वन्द्वको समय अघिसम्म राम्रै चलेको थियो । झण्डै ०४०।४५ सालसम्म यो बाटो भएर भारतीय नागरिकहरु समेत आवतजावत गर्थे । भारतका सात गाउँ बुदी, गव्र्याङ, नपलचु, गुञ्जी, नावी, राकाङ, कुटी तथा कैलाश मानसरोवर दर्शन गर्न जाने यात्री र व्यापारीहरुसमेत नेपालकै बाटो प्रयोग गर्थे । नेपालतिर महाकाली नदी किनारै किनार घोरेटो बाटो थियो । चीनको ताक्लोकोटसँग सीधा व्यापार सम्पर्क थियो । “सजिलै ताक्लोकाटको सामान खलङ्गा आइपुग्थो,” सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय व्यासमै जागिर गर्नुभएका पूर्व कर्मचारी भवानसिंह ठगुन्नाले भन्नुभयोे, “घोरेटोबाटो कहीँ अवरुद्ध थिएन ।” 

पञ्चायत कालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रममार्फत घोरेटो बाटो निर्माण भएको हो । बाटो राम्रो थियो । द्वन्द्वकाल अघिसम्म व्यापारको हिसाबले पनि यो बाटो राम्रो थियो । तर द्वन्द्वपछि भन्सार कार्यालय हट्यो । बाटोमा हिँड्न डर थियो । घोरेटोबाटो मर्मत हुन सकेन । अहिले आएर यो बाटो पूर्णरूपमा बन्द हुन गएको ठगुन्ना बताउनुहुन्छ ।

यही बाटो भएर ताक्लाकोटको सामान ०५८ अघिसम्म दार्चुलासम्म पुग्थ्यो । त्यो बेला तिङ्करदेखि खलङ्गासम्मको भाडा मात्रै एक सय रुपैयाँ प्रतिकिलो थियो । अहिले नेपालतिर बाटो नै छैन । यहाँका स्थानीयवासीले चीन र भारतबाट खाद्यान्न निर्यात गर्दै खाने गरेका छन् । पैसा हुनेले छ महिनाका लागि पुग्नेगरी खलङ्गाबाटै घोडा खच्चडमा खाद्य सामग्री लैजाने गरेको व्यासका स्थानीयवास विमल बोहरा बताउनुहुन्छ । “गरिबलाई खाद्यान्नको निकै समस्या छ । भारतीय सरकारले गर्दा केही राहत थियो । अहिले त्यो अवस्था रहन्छ रहँदैन थाहा छैन”, उहाँले निराशा व्यक्त गर्नुभयो ।

उहाँका अनुसार विगतमा भारतीय पक्षसँगको सुमधुर सम्बन्धमा खाद्यान्न किनिन्थ्यो । चीनले दिने अनुदान सहयोगमा खाद्यान्न पुग्थ्यो तर तीन चार वर्षयता चीनले दिने सहायता रोकेको छ । अहिले नेपालतिर खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । “बाटोघाटो बन्यो भने घोडा खच्चडमार्फत ढुवानी गर्न मिल्ने हो,” उहाँले भन्नुभयो, “हामीसँग अहिले उवा फापर थोरै हुन्छ । अहिलेको समयमा भने व्यासीले के खाने कसरी जीविका चलाउने चिन्ता छ ।”

व्यासी सौका समाजका अध्यक्ष तिङ्करी राज्यले व्यासमा तत्काल खाद्य डिपो स्थापना गर्नुपर्ने बताउनुहुन्छ । “अहिलेसम्म हामीले चीन र भारतबाट किनेर खायौँ, अहिले बन्दाबन्दीले त्यो क्षेत्रबाट ल्याउन सकिने अवस्था पनि छैन । सरकारले नागरिक गाउँ गएपछि तत्काल खाद्यान्न ढुवानी गर्नुपर्छ”, उहाँले भन्नुभयो । अहिलेको अवस्थामा खाद्यान्न पुर्याउन नसके व्यासी नागरिकलाई खाद्यान्न समस्या हुने उहाँको भनाइ छ ।

यो क्षेत्रमा वर्षमा एक पटक मात्रै खाद्यबाली लगाइन्छ । यो क्षेत्रमा आलु, फापर, निप्पल, कोदो, उवा जस्ता खाद्यबाली उब्जनी हुने गरेको छ । व्यास–१ छाङ्रुमा ११५ तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ । यो क्षेत्रमा एक हजार २०० को हाराहारीमा जनसङ्ख्या रहेको छ ।

सात महिनापछि गाउँको ढोका खुल्दै
गत कात्तिक अन्तिमतिर छाङ्रु र तिङ्करका स्थानीयवासी पशुचौपायासहित खलङ्गा झरेका थिए । हिमपात हुन थालेपछि खलङ्गा झरेका व्यासीहरु वैशाख महिनामै व्यास उक्लनुपर्ने हो तर यो पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल र भारत दुवैतर्फ सीमानाका बन्द भएपछि उनीहरुको कुञ्चा जेठ पहिलो साता मात्रै सरेको छ । 

बन्दाबन्दीका कारण सीमानाका नखुल्दा उनीहरुको कुञ्चा ढिलाइ भयो । नेपालतिर बाटो छैन । बाटो मर्मत गर्न शुरु गरे पनि अहिले कुञ्चा सर्न सक्ने अवस्था रहेन । व्यास तिङ्करको कुञ्चा भारतीय मार्ग हुँदै गाउँ गएको छ भने छाङ्रुको कुञ्चा नेपालको आधा बाटो र त्यसपछि महाकाली तरेर भारत हुँदै गाउँ उक्लिएको हो । 

“कुञ्चा गाउँ नजिकै पुग्दैछ”, कुञ्चा जानुभएका दानसिंह तिङ्करीले भन्नुभयो, “एक दुई दिनमै गाउँ पुग्छौँ ।” पशुचौपाया र लालाबालासहित उनीहरु गाउँ गएका हुन् । गाउँबाट फर्किँदा ढोकामा ताला लगाएर आएका हुन् व्यासीहरु । “पूरै गाउँ भगवान् भरोसामा छोडिएको हुन्छ”, तिङ्करी भन्नुहुन्छ, “गाउँभरि एक जनामात्रै गाउँ हेरालु हुन्छन् । हिमपातले गर्दा पूरै गाउँ ढाकिएको हुन्छ । अहिलेसम्म चोरी भएको छैन ।”

यही जेठ ८ गते दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल भएर छाङ्रु र तिङ्करका ११४ पुरुष, ७३ महिला र आठ बालबालिका गरी १९५ जना गाउँ फर्किएका छन् । उनीहरूसँगै २८४ पशुचौपाया गाउँ गएका छन् । व्यास छाङ्रुको पशुचौपाया र केही स्थानीयवासी भने नेपालकै बाटो भएर गाउँ गएका छन् । उनीहरुको तथ्याङ्क प्राप्त भएको छैन । 

व्यासीको सडक सपना 
व्यासीहरुलाई नेपालकै बाटो भएर गाउँ जाने रहर भने अहिलेदेखिको होइन । आर्थिक वर्ष ०६४।०६५ मा दार्चुला–तिङ्कर सडक शुरु भएसँगै व्यासीहरुलाई आफ्नो भूमि भएर गाउँ जाने सपना थियो । सडक बन्ला, व्यासमा फलेको स्याउ दार्चुला र तराई क्षेत्र जाला, आलु, उवा, फापर बजारमा लगेर र खलङ्गाबाट स्वदेशकै बाटो भएर खाद्यान्न ढुवानी गर्ने व्यासीहरुको सपना थियो । 

व्यासका स्थानीयवासी जीतबहादुर बोहरा नेपालको सडक शुरु भएपछि आफूले व्यासमा स्याउ खेती शुरु गरेको सम्झिनुहुन्छ । उहाँले भारतको हिमाञ्चल प्रदेशबाट बिरुवा ल्याएर स्याउ खेती गर्नुभएको हो । अहिले उहाँकै मात्र ३० क्विन्टलभन्दा बढी स्याउ फल्छ । हजारौँ बोट स्याउ व्यासमा फलेका छन् तर सडक नहुँदा बर्सेनि स्याउ कुहिएर जान्छ, उत्पादनले बजार पाएको छैन । 

अहिले व्यास क्षेत्रमा अन्य व्यक्तिले पनि स्याउ खेती शुरु गरेका छन् । नेपालको सडक बनेपछि यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने भन्दै उहाँले लाखौँ रकम खर्च गरेर काठै काठबाट निर्मित घरहरु बनाउनुभएको छ । कैलाश मानसरोवर दर्शन गर्न जाने बाटोमै उहाँको घर पर्छ तर उहाँले सोचेअनुसार सडक बनेको छैन । सडक नबन्दा उहाँ मात्र होइन सम्पूर्ण व्यासी निराश छन् । 

सडक निर्माण शुरु भएको १२ वर्षसम्म पनि सडकले गति लिएन । सदरमुकाम खलङ्गाबाट व्यास गाउँपालिका सुनसेरासम्मको ४० किलोमिटर सडकको ट्र्याक खुल्न १२ वर्ष लाग्यो । व्यासको सडक सपना अधुरै रह्यो । अहिले सरकारले गत वैशाख १४ गते व्यास–२ माल नजिकैबाट चीनको ताक्लाकोट जोड्ने गरी निर्माण हुने महाकाली लोकमार्गअन्तर्गत दार्चुला–तिङ्कर सडकको ८७ किलोमिटर सडक नेपाली सेनामार्फत बनाउने जिम्मेवारी दिएको छ । सेनालाई बाँकी सडकको काम दिएपछि व्यासीमा व्यासम्म सडक पुग्ने विश्वास जागेको छ । अहिले सेना व्यासको घाँटीबगर क्षेत्रमा बाटो निर्माणमा जुटेको छ । सेनाले छिट्टै सडक निर्माणको काम पनि शुरु गर्ने तयारी गरेको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.