महालक्ष्मी आचार्य
विश्वका २ सयभन्दा बढी मुलुक कोरोना भाइरस (कोभिड—१९) को कारण विश्वव्यापी महामारीबाट आक्रान्त छ । ५० लाखभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित भैसकेका छन् भने ३ लाखभन्दा बढी मानिसहरुको यसबाट मृत्यु भैसकेको छ । व्यक्ति व्यक्तिबाट द्रुत गतिमा संक्रमण फैलने कारणले विश्वभरि नै यसको त्रास बढ्दो छ । नेपालमा पनि ६ सयभन्दा बढीको संख्यामा संक्रमित भेटिइसकेका छन् । यो रोग समुदाय स्तरमा फैलिएको आशंकाले थप डर त्रास उत्पन्न भएको छ ।
मानव समाजमा जब जब कुनै न कुनै महामारी आउँछ, यसले सबभन्दा छिटो मानिसको मानसिक स्वास्थ्यमा असर पार्छ । हाल विश्वभर कोभिड—१९ को महामारीको कारण संक्रमित भै मृत्यु हुनेको संख्या जसरी बढिरहेको छ, त्यसैगरी लकडाउन तथा आइसोलेसनमा बस्नुपर्दा बाँच्नेहरुको मानसिक स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखिन थालेका छन् । जसका कारण आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । लकडाउन सुरुभएदेखि (चैत्र ११—बैशाख २० सम्म) नेपालमा मात्र ४ सय ९२ जनाले आत्महत्या गरिसकेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।
महामारीले ल्याउन सक्ने मानसिक असर (लक्षण)
मानिस स्वभावैले सामाजिक प्राणी हो । सामाजिक क्रियाकलापमा नै मानिसको शारीरिक तथा मानसिक विकास संभव छ । हालको अवस्थामा सामाजिक दुरी कायम गर्नुपर्ने हुँदा एक्लोपनको महसुस हुने गर्छ । यसको कारणले निराशा, तनाव बढ्न सक्छ । त्यसैगरी डर लाग्ने, चिन्ता लाग्ने, छटपटी हुने, निद्रा गडबड हुने, नराम्रो तथा डरलाग्दा सपना देख्ने, सानो कुरामा पनि रिस उठ्ने, मन आत्तिने, रुन मन लाग्ने, वेचैनी हुने जस्ता मनोविकारहरु देखिन सक्छन् भने पाचन प्रकृयामा गडबडी उत्पन्न भई अपच, ग्यास्ट्रिक हुने, छाती, टाउको दुख्ने, पूरै शरीर दुख्ने वा पालैपालो शरीरका विभिन्न अङ्गहरु दुख्ने, रिँगटा लाग्ने जस्ता शारीरिक लक्षणहरु पनि देखिन सक्छ, जुन मानसिक कारणले भएको हुन सक्छ ।
मानसिक स्वास्थ्य समस्यामा जोखिम समूह
१. स्वास्थ्यकर्मी — २ जनवरीदेखि ३ फेब्रुअरी २०२० सम्मको मनोवैज्ञानिक अनुसन्धान (जियांवो लाइ र एट अल, २०२०) को आधारमा सम्पूर्ण स्वास्थ्यकर्मीको ४२% स्वास्थकर्मीहरु प्रत्यक्ष विरामीको सम्पर्कमा आएका थिए । जसमध्ये ५०% लाई डिप्रेशन, ४३ % चिन्ता, ३४%लाई निद्राको गडबडी, ७२% लाई तनाव देखिएको थियो । कोरोनाको उच्च जोखिम रहेको चीनको वुहानमा बिरामीको प्रत्यक्ष हेरचाहमा संलग्न महिला नर्सहरुमा लक्षण बढी भेटियो । यसरी हेर्दा कुनै पनि महामारीमा प्रत्यक्ष रुपमा संलग्न हुने वर्ग भनेको स्वास्थ्यकर्मी नै हुन्छन् । यसको प्रत्यक्ष असर पनि यिनीहरुलाई नै पर्न जान्छ । रोगबाट संक्रमित हुने जोखिम त छँदै छ, मनोवैज्ञानिक असरको जोखिम पनि यिनीहरुलाई बढी हुने गर्छ ।
२. जेष्ठ नागरिक — त्यसै पनि उमेर बढ्दै जाँदा केही न केही मानसिक समस्याको सिकार भएको पाइन्छ । त्यसमा पनि हाल लकडाउनको अवस्थामा बिना हिँडडुल घरभित्रै रहनुपर्दा एक्लोपनले सताउन सक्छ । जसले गर्दा निरासा बढ्न सक्छ । मन उदास हुन्छ । विभिन्न खालको चिन्ताले सताउन सक्छ । मनमा नकारात्मक भावहरु पैदा हुन्छन् । यसले मनोविकारको रुप धारण गर्छ ।
३. महिला — महिला वर्ग मानसिक स्वास्थ्य समस्याबाट जोखिमको स्थितिमा रहेको विभिन्न अध्ययनले देखाएको छ । महिलाको शारीरिक अवस्थामा आएको परिवर्तनसँगै हर्मोनमा परिवर्तन आउँछ । यसको कारणले मानसिक अवस्थामा परिवर्तन आउनुका साथै भावनात्मक रुपमा असर देखिन थाल्छ । यी कुराहरु सामान्य अवस्थामा रहेको बेलामा हो भने लकडाउनको अवस्थामा यो असर अझ बढी देखिन सक्छ । जसले गर्दा चिन्ता, तनाव, चिडचिडापन, निद्रामा गडबडी, खानपानमा गडबडी जस्ता समस्याहरु देखिन सक्छ । जसले गर्दा परिवारमा झै झगडा हुने मात्र नभै आत्महत्याको संभावना देखिन्छ ।
४. बालबालिका — क्रियाशीलतामा नै बालबालिकाको शारीरिक तथा मानसिक विकास संभव छ । यिनीहरु जति सकृय हुन्छन्, त्यति नै शारीरिक रुपले सवल हुन्छन् । शारीरिक वृद्धिसँगै अर्थात् उमेर अनुसार उनीहरुलाई मानसिक रुपमा सकृय राख्नु आवश्यक छ । तर लकडाउनको कारण लगभग २ महिनादेखि घरभित्रै रहनु पर्दा यिनीहरुको शारीरिक तथा मानसिक अवस्थामा असर पर्ने प्रशस्त संभावना छ । त्यो असर तुरुन्त देखिन पनि सक्छ अथवा अहिले कुनै कारणले (जैविक वा वातावरणीय) दबिएर बस्छ र पछि आफ्नो रुप देखाउन पनि सक्छ । २०७२ सालको भूकम्पबाट परेको आघात हालसम्म पनि पोस्ट ट्रमाको रुपमा देखा परिरहेको छ ।
५. दैनिक ज्यालादारी गर्ने मजदुर — जति बेला जस्तोसुकै संकट वा महामारी आउँछ, त्यसको प्रत्यक्ष र सबभन्दा ठूलो असर यही वर्गलाई पर्छ । यो वर्ग यतिखेर बिकराल मानसिक तनावको स्थितिमा छ । दैनिक गुजारा कसरी गर्ने ? यो मानिसको सबैभन्दा ठूलो समस्या हो । यसको कारणले सबभन्दा छिटो मानसिक तनाव सिर्जना हुन्छ । यो तनावले मानिसलाई जस्तो स्थितिमा पनि पु¥याउन सक्छ । ऊ मर्न पनि सक्छ र मार्न पनि सक्छ । अर्कोतिर रोगको संक्रमण हुने डर छ । यो चिन्ताले मानिसलाई भित्र भित्र सताइरहेको छ । यसको कारणले पनि दिनप्रति दिन मानसिक तथा भावनात्मक रुपले कमजोर हुनसक्छ मानिस ।
यस्तो अवस्थामा चिन्ता लाग्नु, तनाव बढ्नु सामान्य हो । तर यो अवस्था बारबार अथवा लामो समयसम्म रही रह्यो भने अब आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्नुपर्छ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ । किनकि भोलि फेरि हामीले आफ्नो काम सम्हाल्नु छ । पहिलेकै अवस्थामा फर्कनु छ । त्यसैले हामी मानसिक रुपबाट स्वस्थ अवस्थामा रहनु आवश्यक छ । आफूलाई बुझौँ, के म मानसिक रुपमा स्वस्थ छु । वा यी माथिका मध्ये मलाई कुनै लक्षण देखिदै छ ? यदि कुनै समस्या देखिएमा मानसिक तनाव कम गर्ने उपायहरु अप्नाउनु पर्छ । त्यसबाट पनि भएन भने मानसिक स्वास्थ विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।
(नोट : लेखक आचार्य मनोसामाजिक परामर्शदाता हुनुहुन्छ । )

No comments:
Post a Comment