बेपत्ता रिचार्ड मोरिसको खोजी थप तीव्र - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

बेपत्ता रिचार्ड मोरिसको खोजी थप तीव्र

– कृष्णप्रसाद शर्मा 
लण्डन, ६ जेठ  : दुई हप्ताअघि बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ । मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्कनुभएका मोरिस बेपत्ता हुनुभएको थियो । गत हप्ता हेम्पसायर प्रहरी कार्यालयले खोजीका लागि सर्वसाधारणमा अपिल जारी गरेको थियो ।

सोमबार पुनः अर्को अपिल जारी गर्दै बेन्ट्ली वरपरका मानिसलाई आ–आफ्नो घर वरिपरिका झाडीमा केही शङ्कास्पद चिज भेटिए खबर गर्न भनिएको छ । यस्तै उक्त दिन सोही क्षेत्र भई आवतजावत गरेका व्यक्तिको गाडीको ‘डेसक्याप’ पनि हेर्न अनुरोध गरिएको छ । खासगरी गाडीमा जडित उक्त यन्त्रले बाहिरी वातावरणको दृश्य कैद गर्दछ ।

रिचार्डको खोजीका लागि तालिमप्राप्त कुकुरहरू र हेलिकोप्टरको पनि प्रयोग गरिएको छ । उहाँको घर नजिकैको जङ्गलमा प्रहरीको छुट्टै टोलीले खोजतलास तीव्र पारेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गरी कूटनीतिक क्षेत्रका एक अब्बल व्यक्ति गुमाएको र उहाँलाई अझै सकुशल अवस्थामा भेट्टाउने आशा रहेको व्यक्त गरेका छन् । बेपत्ता रिचार्ड मोरिस नेपालका लागि सन् २०१५ देखि २०१९ सम्म रातदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो । 

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि 
बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो । 

बेलायतको स्वास्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताउनुभयो । कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ । 

प्रो ट्यामले कोरोनाको सङ्क्रमणबाट हालै भर्ना भएका नयाँ सङ्क्रमितमा यी लक्षण करीब ९३ प्रतिशतलाई देखिएको बताउनुभयो । किङ्स कलेज लण्डनका अनुसन्धानकर्मी प्रो टिम स्पेक्टरको समूहले गत हप्ता प्रकाशित गरेको अनुसन्धानले यस्तो निष्कर्ष देखाएको हो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.