कथा
![]() |
| मुक्ति ढकाल |
पल्लव सधैँझैं अफिसका लागि तयार भएर मोटरसाइकलका साथ गेटमा निस्किए । वाइक स्टार्ट गरे र हर्न वजाए तर पत्नी वाहिर निस्किइनन् अनि चिच्याउँदै औषधी खान नबिर्सनु है भन्दै कामतिर लागे ।करिब दस वर्ष जीवनका बैँसहरु सहकारीमा फालेपछि बल्ल उनलाई व्यवस्थापक वन्ने भाग्य खुलेको छ । आफ्नो काम र जिम्मेवारीमा इमान्दार उनी गीताको कर्मवादी दर्शनवाट प्रभावित छन् र सहकर्मीहरु पनि आफजस्तै होऊन् भन्ने उनी चाहन्छन् । तर अन्तर्मुखी स्वभावले गर्दा चित्त नबुझेको काममा पनि बरु आफ्नो मन पिरोल्छन् तर हत्तपत्त कडा निर्देशन र मन दुखाउने गरी भन्नै सक्दैनन् । केही कमजोरी रहे पनि समग्रमा उनी असल व्यवस्थापक मानिएकै छन् ।
संयोग भनौ दस वर्ष पहिला जुन दिन उनले मालतीसँग लगनगाँठो कसेका थिए ठ्याक्कै त्यसै दिन उनको त्यो संस्थामा जागिरमा नाम पनि निस्किएको थियो । घरको निम्नमध्यम आर्थिक अवस्थामा त्यो जागिरको महत्व निकै ठूलो थियो । सम्झे मालती लक्की रहिछ,गृह प्रवेशसँगै यो घरमा लक्ष्मी पनि लिएर आई ।क्रमशः पल्लवको आर्थिक अवस्था पट्रमा आउँदै गयो भने सामाजिक रुपमा पनि उनी स्थापित हुँदै गए ।
पल्लव र मलतीको गृहस्थी चलेकै छ । केही स्वभावगत भिन्नता छन् तर पनि धेरैजसो कुराहरुमा उनीहरुले तालमेल बसाएकै छन् । पल्लवको विपरीत मालती बहिर्मुखी छिन् ।उनी हरेक कुरा स्पष्ट राख्छिन् र पतिदेवलाई धेरै कुरामा कन्भिन्स गर्न पनि सफल छिन् । मालती बिहे गरेर आएको दस दिनपछि उनकी साथीे कृपाको पनि त्यही नजिकै गाउँमा बिहे भयो । यी दुईका कारण परिवारका बिचमा पनि मीठो संबन्ध स्थापित हुँदै गयो । पहिलो म्यारिज एनिभर्सरी आयो । पल्लव र मालतीले सामान्यरुपमा मनाए त्यो पनि मालतीले संझाए पछि ।त्यसको दस दिनपछि कृपाको पनि म्यारिज एनिभर्सरी आयो । उनीहरुले मालतीको परिवारलाई पनि बोलाए र तामझामका साथ एनिभर्सरी मनाए । आफ्नो र त्यो एनिभर्सरीको मालतीको मनले गरेको तुलनाले उनको मनमा केही खल्लो जगायो । घर फर्किने क्रममा कताकता उनलाई आफ्नै पतिप्रति रिस उठेर आयो । क्यै गर्न नजान्ने कस्तो निरस मान्छे रहेछन् यिनी भन्ने खालको धारणा उनको मनमा बन्न पुग्यो र झोक्किँदै पल्लवलाई भनिन् “देख्नु भो ! एनिभर्सरी कसरी मनाइन्छ?” पल्लवले “अँ मात्र भनेँ, अरु केही बोलेनन् ।
पल्लव मालतीलाई माया त गर्छन् तर उनको स्वभावगत विशेषताले गर्दा होला सायद् त्यसको अनुभव मालतीलाई हुन सकेको छैन । मालतीलाई चाहिएका कुरा उपलव्ध गराउनू, बिरामीका बेला मालतीलाई उपचार नगरी शान्त हुन नसक्नू,बिरामीका बेला मालतीको सेवा र उनलाई सुसेधन्दामा सघाउनेसमेत गर्दछन् । प्रायः कार्य व्यस्तताले पनि पल्लव मालतीसँग कृपाका श्रीमान्ले जस्तो घुमेर बिताउन सक्दैनन् । पहिलो एनिभर्सरीपछि मालती र कृपाको मित्रता झन् झाँगिदै गयो ।भेटघाट,कुराकानी र सुखदुःख साटासाटले उनीहरुलाई विवाह अघिभन्दा पनि अझ नजिक पु–यायो । भेट हँुदा कृपा आफ्ना श्रीमान्ले यो किनिदिएको त्यो किनिदिएकोजस्ता अनेक कुराहरु भएभन्दा अझ बढाइचढाइ गरेर गर्थी । यस्ता कुराले कताकता मालतीको मन अमिलिन्थ्यो र पल्लवको अनुहारप्रति कताकता वितष्ृणा जाग्थ्यो ।
वर्षहरु बित्दै गए दुवैका संतानहरु जन्मिए । उमेर उकालो लाग्दै गयो अनि जिम्मेवारीका भारीहरु पनि थपिँदै गए । मालतीका शरीरमा केही समस्याहरु प्नि देखिन थाले । पहिलोपटक कोखो दुखेर रन्थनिएका बेला पल्लवले असिनपसिन हुँदै तत्कालै अस्पताल पु¥याएका थिए । करिब २ दिनको अस्पताल बसाइमा सवै कुरा चेकअप गराई मालतीलाई ल्याएपछिमात्र पल्लवले चयनको सास फेरेका थिए । मालतीको स्वास्थ्यले उनलाई एकातिर चिन्ता र अर्कोतिर माया दुवै बढाएको थियो । ती २ दिनको पीडा मालतीलाई महसुस नहने गरी उनले भित्रभित्रै पिए । भगवान्सँग मालतीको स्वास्थ्यलाभको कम्ति कामना गरेनन् । डाक्टरले लिवरमा समस्या भएकाले नबिर्सिकन ओखती खानुपर्ने भनेकोे हुनाले पल्लव सधैँ अफिस जाने बेला औषधी खान संझाउँछन् । त्यसपछिका उनका हरेकपल अफिसमै भए पनि प्रायः मालतीको सुस्वास्थ्यको चिन्ता र प्रार्थनामा नै बितिरहेका छन् ।
उता कृपा हमेसा मालतीसँगको भेटमा श्रीमान्ले दिने, ल्याइदिने कुरा र श्रीमान्ले यसो गर्नुहन्छ र उसो गर्नुहन्छ भन्ने बखान गरेर थाक्दिनन् । यस्ता कुरा सुन्दासुन्दा मालतीलाई मनको कुनामा कताकता आफ्नो श्रीमान्ले कृपाको श्रीमान्ले भन्दा कम माया गर्छ कि भन्ने लाग्न थाल्यो । कृपाका कुराले जब उनको दिमाग भरिँदै गयो अनि उनले आफ्नो श्रीमान्मा धेरै कमजोरीहरु देख्न थालिन् । यतिका वर्षमा न आफूले भनेजस्ता गहना छन् न त आजका दिनसम्ममा सरप्राइज कुनै गिफ्ट नै छ । यस्तैयस्तै कुराले क्रमशः मालती पल्लवलाई माया नगर्ने श्रीमान्का रुपमा देख्न थालिन् । उनलाई आफु मायामा अतृप्त रहेको आभाष हुन थाल्यो । मथिंगल नै यस्तै करामा बित्न थालेपछि मालती कहिलेकाँही श्रीमान्लाई प्रश्न गर्न थालिन् “ए पल्लव! तिमी मलाई माया गर्छौ?” हठात् आउन थालेका यस किसिमका प्रश्नको वर्षाले पल्लव चकित हुन थाले । “के सोधेको हो यस्तो ?गर्छु नि धेरैधेरै”भन्ने उत्तर दिन्थे । बिदामा घर वसेका बेला मालतीलाई कतकता निराश देखेर एकदिन सोधे“आजकल तिमी किन निराश देखिन्छ्यौ मालती?”मालती भने त्यस्तो क्यै होइन भन्दै पन्छिइन् तर मनभित्र गएको पहिरोको रोकथाम बारे उनी मौन नै रहिन् ।यसरी मालती भित्रभित्रै असन्तुष्टिले जल्दै गइन्।
यही बिचमा विवाहको दसौ एनिभर्सरी आयो । यसपाला पल्लव आफैले मालतीलाई भने “दसौँ एनिभर्सरी धुमधामसँग मनाउने इच्छा थियो तर काकाको घरमा परेको घटनाले मनाउन नपाइएला जस्तो छ के गर्ने हो मालती?” उनलाई धुमधामको इच्छा हुँदाहुँदै पनि आँट्न सकिनन् र सामान्यरुपमा घरमै मनाए ।त्यसको ठिक दस दिनपछि साथी कृपाको दसौँ एनिभर्सरी आयो । पल्लव र मालती पनि बोलाइए ।वेलुका सात बजेतिर उनीहरु गए ।मानिसहरुको आउनेक्रम भर्खरै सुरु भएको थियो ।मालतीले पुग्ने बित्तिकै कृपालाई बोलाइन् । कृपा आएर “भित्र केही तयारी गर्दै छु एकछिन वेट गर ल” भन्दै भित्र गइन् । मालतीलाई कृपाका गहना र पहिरनले फेरि विषाद् थप्यो र झनक्क रिस मिस्रित आँखाले पल्लवलाई पुलुक्क हेरिन् । पर्खाइकै बिचमा बगैँचामा फुलेको गुलाफ देखेर मालती त्यो भएको ठाउँमा गएर गुलाफलाई के खेलाउन थालेकी थिइन् काँडाले हातमा घोच्यो र रगत आउन थाल्यो ।कपडामा लाग्छ कि भन्ने डरले मालती हात धुन धारोतिर जाँदै थिइन् ठिक त्यहीबेला झ्यालभित्र कृपा उभिइरहेको जस्तो देखिन् ।अझ नजिक पुग्दा त्यहाँ उसको श्रीमान्ले ठुलो आवाज निकालेर कृपालाई गरेको गालीको आवाजका साथै कृपाको हातको थाली फालेको आवाज पनि सुनिन् । केही बेरपछि कृपा र उसको श्रीमान् आए ।
एनिभर्सरीको कार्यक्रम सरु भयो । सवैले शुभकामना दिए । नजिक गएर शुभकामना दिँदै गर्दा मालतीले कृपाको आँखामा आँसुले बिगारेको गाजलको धर्सो प्रष्ट देखिन् । कृपाको माया लागेर आयो साथमा पल्लवको पनि । त्यो धर्सोले मालतीको पल्लवप्रतिको धारणाका सबै पर्खाललाई उत्तिखेरै भत्कायो । कार्यक्रम र खानपान सिद्ध्याएर मालती र पल्लव पनि घरतिर हिँडे । आज बाटामा जाँदै गर्दा उनको मन कताकता हलुको भएर आयो । बादल फाटेर आकाश खुल्ला भएझैँ भयो । पल्लव आफुलाई औधी माया गर्ने श्रीमान् देखिन थाले र उनको असाध्यै माया लाग्यो । झ्याप्पै अँगालामो पल्लवलाई कस्न मन लागेर आयो ।बाइकको पछाडि भएकाले दाहिने हातले पतिदेवलाई मज्जाले समातेर आफ्नो टाउको उनको ढाडमा राखी उनीप्रति मनमनै माफीनामा र कृतज्ञको भावका साथ मालती होस र खुसी बोकेर आफ्नो घर पुगिन् ।

No comments:
Post a Comment