काठमाडौँ, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा, निशान छाप र प्रतीकचिह्नसहितको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्न एवं जिज्ञासाबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानको अनुसूची ३ सँग सम्बन्धित संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने जानकारी दिनुभयो ।
उहाँले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा उक्त अनुसूचीसहित आवश्यकतानुसार अन्य विषयमा पनि संशोधन गर्न सकिने जनाउनुभएको थियो ।नेपालको गुमेको भूभागमा मन कुँड्याएर बसिरहने नभई अब फिर्ता ल्याउनुपर्छ भन्दै उहाँले दबेर वा हीनग्रन्थीबाट वा कसैले धम्क्यायो भने लच्किएर छिमेक सम्बन्ध नहुने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले नयाँ नक्शा ल्याएको छ । अब अतिक्रमित भूमि फिर्ता ल्याउँछ । केही दिनमा उक्त नयाँ नक्शा प्राप्त हुनेछ ।” (रासस)

No comments:
Post a Comment