![]() |
| शशी श्रेष्ठ |
यो पृथ्विभरि
न त टेक्ने जमिन
न बस्ने घर नै,
केही नभएको ऊ
आकाशको छानो लगाई
एक निन्द्रा मिठ्ठो निदाउँछ।
प्रत्येक पटक निन्द्राबाट ब्युँझदा
ऊ,
आफूलाई ठुलो मान्छे सम्झन्छ,
आफ्ना एक-एक भावि योजनाहरु
गिट्टी कुट्दा कुट्दै निक्लेको
लय र तालसँगै
आफ्नि प्यारीलाई सुनाउँछ।
सुन न कान्छी,
अचेल यो दिल पनि
सम्भव नहुने कुरामा आँट गर्छ।
कहिले,
भ्रष्टचार सबै निर्मुल पार्छु भन्छ,
कहिले फेरि,
दुई-चारवटा टेन्डर हाली,
रातारात धनी बनौँ भन्छ।
कहिले,
आफ्ना छोराछोरीसँगै
देशका सांसदहरु पढाउने राम्रो स्कुल खोल्छु भन्छ,
कहिले फेरि,
एक्लै धरहरा बनाएर
काठमाडौंको दृश्यपान गरि बस्छु भन्छ।
कहिले,
फाइभ स्टार होटलमा बसेर
स्याम्पियनको चुस्कि लिन्छु भन्छ,
कहिले फेरि,
दौडेर तपोवनमा गइ ध्यानमा हराउँछु भन्छ।
कहिले,
आफ्ना पीर र व्यथाहरुलाई
कागजका पानाहरुमा
रङ्गिन पुतली बनाइ उडाइदिन्छु भन्छ,
कहिले फेरि,
पसल र मार्टहरुमा
आँखाभरिका सपना बेचि आउँछु भन्छ।
कहिले,
कैयौँ घरहरु बगर बनाइ भाग्ने खोलालाई
समातेर जेलमा हाल्छु भन्छ,
कहिले फेरि,
आफ्ना इच्छा र रहरहरु
अँगेनाको भुङ्ग्रोमा हालेर
खरानी बनाइ खोलामा बगाउँ भन्छ।
कहिले,
मजदुर र मालिकको
पिउने पानी र भातका सिताहरु
एउटै बनाउँछु भन्छ।
कहिले फेरि,
यो लोकमै नभएको मानवता र विश्वास
चिहानतिर गइ खोज्छु भन्छ।
यति भनि सक्दा नसक्दै
ऊ फेरि,
बगरको ओछ्यानमा,
आकाशको छानोमुनि,
भुसुक्क एक निन्द्रा
मिठ्ठो निदाउँछ।।

No comments:
Post a Comment