ढुङ्गेलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

ढुङ्गेलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ६ जेठ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी रुद्रप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति जारी गरी सोमबार बिहान काठमाडौँको कुलेश्वरमा निधन हुनुभएका काँग्रेस रामेछापका पूर्वमहासमिति सदस्य ८२ वर्षीय ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । 

“प्रजातन्त्र सेनानी एवं रामेछापका नेता ढुङ्गेलको निधनले मलाई अत्यन्त दुःखित् बनाएको छ, स्व ढुङ्गेलले काँग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु”, देउवाले विज्ञप्तिमा भन्नुभएको छ । 

रामेछापको खाडादेवी गाउँपालिकामा जन्मनुभएका ढुङ्गेल मुटुसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो । स्व ढुङ्गेल काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वकेन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका ढुङ्गेलको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ । 

विस २०१७ मा प्रजातन्त्र अपदस्त गरिएपछि विस २०१८ को सङ्घर्षका क्रममा तत्कालीन पञ्चायती व्यवस्थाको विरोध गर्दै प्रजातन्त्र बहालीका लागि रामेछापको बडाहाकिम कार्यालयमा भएको बम प्रहारको घटनामा स्व ढुङ्गेल सङ्लग्न हुनुभएको थियो । स्व ढुङ्गेलले पटक–पटक गरी करिब आठ वर्ष जेल र सात वर्ष भारत प्रवासमा जीवन बिताउनुभएको थियो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.