सामूहिक खेतीमा आकर्षित हुँदै कृषक - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

सामूहिक खेतीमा आकर्षित हुँदै कृषक

–कृष्ण दवाडी
कास्की, ५ जेठ : ससाना खेतको गरोमा खेतीपातीका लागि सिँचाइ र ट्र्याक्टर लैजान कठिनाइ भएपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ का कृषक जमिन चक्लाबन्दी गरेर सामूहिकखेतीतर्फ आकर्षित भएका छन् । 

स–साना कित्तामा विभाजित जमीन एकीकरण गरेर खेती गर्दा उत्पादन वृद्धि, खेती गर्न सहज र लागत कम परेसँगै कृषकले ठूलो क्षेत्रफलमा खेतीपाती गर्न शुरुआत गरेका हुन् । अघिल्लो वर्ष सिरानखेतमा २१ कृषकले आफ्नो जमिन मिसाएर ५१ रोपनीमा खेती गरेका उनीहरुले यस वर्ष तल्लाखेतमा १०८ रोपनीमा सामूहिक खेती गर्ने तयारीस्वरुप जमीन समथर बनाएर तयारी अवस्थामा राखेका छन् । अघिल्लो वर्षबाट शुरु गरिएको चक्लाबन्दीबाट उत्पादन वृद्धि भएपछि कृषकको आकर्षण बढेको हो । 

अहिले जमिनको सबै क्षेत्रमा पानी र ट्र्याक्टर लैजान सहज बनाइएको छ । यसअघिका साना गरालाई मिसाएर अहिले पाँच÷पाँच रोपनीका ठूलाठूला खेतको गरा बनाएर राखिएको छ । अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारीमार्फत स्थानीय ३३ कृषक आफ्नो जमिन चक्लाबन्दी गरी पहिलो यस वर्षको पहिलो बाली धान रोपाइँको तयारी थालेका छन् । 

अहिले जमिन समथर बनाइएको र सिँचाइ तथा ट्र्याक्टर लैजाने बाटोसमेत तयार भएको कृषक उपसमूहका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयो । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषिको आधूनिकीरकण, यान्त्रीकरण गरी ठूलो क्षेत्रफलमा व्यावसायिक खेतीका लागि जमिन चक्लाबन्दी कार्यक्रम ल्याएपछि कृषक त्यसतर्फ आकर्षित भएका हुन् । 

कृषि सहकारीमार्फत सामूहिक खेती गर्दा श्रम गर्नेलाई ज्यालाको व्यवस्था गर्ने गरिएको छ भने श्रममा सहभागी हुन नसक्नेले उत्पादन लागत बेहोर्नुपर्ने हुन्छ । सङ्घीय सरकारले गत साता सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष विसं २०७७/०७८ को सरकारको नीति कार्यक्रममा समेत जमिन चक्लाबन्दी गरी सामूहिक खेतीलाई प्राथमिकतामा राखिएको छ । 

कृषकको जमिन एकीकरण गरेर समथर बनाउनका लागि कृषि मन्त्रालयले अनुदान दिने गरेको छ । सरकारले चक्लाबन्दीका लागि ४० देखि १०० रोपनीसम्मका लागि बढीमा रु १० लाख अनुदान, १०१ देखि २०० रोपनीलाई रु २० लाख तथा २०१ देखि ३०० रोपनीसम्म रु ३० लाख र ३०० रोपनीमाथि प्रतिरोपनी रु १० हजारका दरले जमिन समथर बनाउनका लागि अनुदान उपलब्ध गराउँदै आएको छ । 

“यसअघि ससाना टुक्रे जग्गामा ट्र्याक्टर र सिँचाइ पु¥याउन पनि अप्ठ्यारो रहेकामा सबै कृषिक बसेर छलफल गरी चक्लाबन्दी गरेर सामूहिक खेती गर्ने निचोडमा पुगेका हौँ”, पोखरेलले भन्नुभयो ।

कृषियोग्य जमिनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न ससाना कित्ताका जमिनलाई एकीकृत गरी प्रदेशभित्र सामूहिकखेतीका माध्यमबाट टुक्रे उत्पादनको प्रवृत्तिलाई अन्त्य गरी ठूलो परिमाणमा एकै प्रकृतिको व्यावसायिक उत्पादन गर्ने लक्ष्य कृषि मन्त्रालयको छ । 

यस वर्ष गण्डकीका ११ वटै जिल्लाबाट चक्लाबन्दी कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएकामा विभिन्न छ जिल्लाका १२ वटा कृषक समूहसँग सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष गण्डकीमा तीन हजार रोपनी जमिनमा चक्लाबन्दी गरेर सामूहिक खेती गर्ने योजना रहेको मन्त्रालयका भूमि स्रोत नक्साङ्कन महाशाखा प्रमुख गङ्गालाल पोखरेलले बताउनुभयो । 

चक्लाबन्दी खेती प्रवद्र्धनका लागि चालू वर्षमा रु पाँच करोड बजेट विनियोजन गरिएको बताइन्छ । “खेतीयोग्य जमिनको बढ्दो खण्डीकरणलाई रोकेर ठूलो क्षेत्रफलमा एकै किसिमको कृषिबालीमार्फत उत्पादन वृद्धि गर्ने चक्लाबन्दी कार्यक्रमको उद्देश्य हो । गत वर्षदेखि शुरु गरिएको कार्यक्रममा अहिले कृषकको आकर्षण बढेको छ”, महाशाखा प्रमुख पोखरेलले भन्नुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.