कोरोनाबाट निधन भएका युवकको अन्त्येष्टि - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

कोरोनाबाट निधन भएका युवकको अन्त्येष्टि

राँझा, ५ जेठ : बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोना सङ्क्रमणबाट निधन भएका युवकको आइतबार अन्त्येष्टि गरिएको छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का २५ वर्षीय युवकको कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार शव परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्परानुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको हो । भारत, महाराष्ट्र मुम्बईबाट गत वैशाख ३० गते बाँके आएलगत्तै नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टिनमा बस्दैआएका ती युवकको आइतबार बिहान ४ बजेतिर दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको थियो ।

शनिवार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आइतबार अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । पिसिआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारिन्टनमै राखिएको थियो । 

कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि आइतबार नै बसेको जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थान क्वारेन्टिनदेखि करीब ३ किमीको दूरीमा रहेको शव दहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय भएअनुसार दाह संस्कार गरिएको हो । सङ्क्रमित ब्यक्तिको सम्पर्कमा रहेको आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । सङ्कलित स्वाबको पिसिआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएपछि प्राथमिकताका साथ उनको स्वाब परीक्षणको गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.