उपत्यका छिर्ने उत्तरपूर्वी नाकामा पूर्ण कडाइ - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 May 2020

उपत्यका छिर्ने उत्तरपूर्वी नाकामा पूर्ण कडाइ

काठमाडौँ, ९ जेठ : उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका आजदेखि पूर्णरुपमा बन्द गरिएका छन् । वडा नं ३ को जहरसिंह पौवा र वडा नंं ८ को कात्तिके नाकाबाट छिर्न प्रतिबन्ध लगाइएको हो । 

बिहीबार नगरपालिकाको वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटी परीक्षणका क्रममा १२ जनाको प्रतिवेदन पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र बिहान १०ः०० बजेदेखि सिल गर्दै दुवै जिल्लाबाट प्रवेश गर्न पूर्णरुपमा बन्द गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताउनुभयो । 

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुषमा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी परीक्षण गरिएको थियो । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका १२ जनालाई नगरपालिकाको वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारिन्टाइनमा राखिएको छ । पिसीआर परीक्षणको प्रतिवेदन नआएसम्म सबैलाई यही राखिने छ । क्वारेन्टाइनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गरिरहको छ ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाको आज बिहान स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि नगरपालिकाको नाका क्षेत्रका युवाले जहरसिंह पौवाबाट साँखु आवतजावत रोकेका छन् । नेपाल प्रहरीले समेत नाकामा गत दिनभन्दा बढी कडाइ गरेको छ ।

यस क्षेत्रका कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठबाट उपत्यका भित्रने नाकामा पनि कडाइ गरिएको छ । तीनै नगरपालिका क्षेत्रमा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मार्ग हुँदै सवारी र पैदलयात्रासमेत गरेर सिन्धुपाल्चोक र नुवाकोट आवतजावत हुने गरेको छ । 

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बिहीबार गृहमन्त्रालयमा स्थानीय तहका जनप्रतिनिधिसँग भएको बैठकअनुसार उपत्यका बाहिरबाट आउनेलाई पूर्णरुपमा रोक लगाउन सहयोग गरिएको बताउनुहन्छ । प्रहरीले नाकामा रोक्ने गरेकामा यस क्षेत्रका स्थानीय तहले सहयोग गरिरहेका छन् । 

निकुञ्जबाट भित्रने मूल सडकमा नेपाली सेनाको समेत सुरक्षा छ । हिँडेर आउने बाटोमा भने सबैतिर सेना एवं प्रहरीको निगरानी नभएकाले यसमा सरोकार भएका निकायको ध्यान जानुपर्ने गोकर्णेश्वर–१ का बासिन्दा सोमबहादुर तामाङ बताउनुहुन्छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.